झापा, भदौ २२– खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नपाइने लगायतका माग राख्दै गिरीवन्धु टी ईष्टेट, झापाका श्रमिकले रिले अनसन सुरु गरेका छन् । भदौ २२ गते सुरु भएको अनसन असोज १ गतेसम्म चल्नेछ ।
गत साउनदेखि दैनिक ज्यालामा रु २५ बृद्धि गर्नुपर्ने भएपनि हालसम्म सो रकम बृद्धि नगरिएको मजदुरले गुनासो गरेका छन् । यसैगरी विसं २०७० सालमा गरिएको तलव बृद्धि वापत फरक पर्न गएको रु ८ लाख पनि श्रमिकलाई नदिइएको उनीहरुको भनाई छ ।
चियावगानमा कार्यरत श्रमिकको बसोवासस्थान जिर्ण भएको र सोको मर्मत गर्ने यसअघि नै सहमति भएपनि हालसम्म त्यसमा उदासिनता देखाइएको श्रमिकले बताएका छन् । जिफन्ट मेचि अञ्चल अध्यक्ष सन्तकुमार राईका अनुसार यसअघि श्रमिकले प्रतिमहिना पाउँदै आएको ३ सय ग्राम चियारंग पनि कटौति गरिएको छ । यसैगरी श्रमिकका लागि उपलव्ध गराइएको प्राथमिक स्वास्थ्य सेवा पनि हाल बन्द भएका कारण श्रमिक आन्दोलनमा उत्रेका हुन् ।
सो चियावगानमा यसअघि ३ सय ५ जना स्थायी श्रमिकले काम गर्दै आएकोमा हाल १ सय ९५ मा झरेको छ । रिक्त स्थानमा नयाँ श्रमिक भर्ना गर्न पनि श्रमिकले माग गरेका छन् ।
