काठमाडौं, भदौ २०
बैदेशिक रोजगारका क्रममा मृत्यु हुने नेपाली मध्ये मलेसियामा धेरैजसोको मृत्युको कारण पत्ता नलागेको देखिएको छ । तर बैदेशिक रोजगारीका क्रममा हुने गरेका आत्महत्या मध्ये सवैभन्दा धेरै मलेसियामा हुने गरेका देखिएको छ । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याँक अनुसार सन् २००८-०९ देखि २०१४-१५ सम्मको तथ्याँकलाई विश्लेषण गर्दा साउदी अरवमा भनें स्वभाविक मृत्यु(नेचुरल डेथ) बढी देखिएको छ ।
यो समयावधिमा बैदेशिक रोजगारीका क्रममा ४ हजार ३ सय २० जना नेपालीले ज्यान गुमाएका छन् । यसमध्ये पुरुषको संख्या ४ हजार २ सय ३५ छ भनें महिलाको संख्या ८५ रहेको छ । त्यसमध्ये सवैभन्दा धेरै मलेसियामा (१ हजार ५ सय ६२), दोश्रोमा साउदी अरवमा(१ हजार १ सय ६२) तथा तेश्रोमा कतारमा (९ सय ३२) नेपालीले ज्यान गुमाएका छन् ।
मलेसियामा मृत्यु भएका मध्ये ५ सय ४६ जनाको मृत्यु कारण पत्ता नलागेको वा अन्य भन्ने उल्लेखित छ । १ सय ४४ जनाले आत्महत्या गरेका छन् । जवकी साउदीमा यसअवधिमा ६० जनाले आत्महत्या गरेका छन् भनें कतारमा आत्महत्या गर्नेको संख्या ५४ छ ।
यसैगरी कतारमा मृत्यु भएका मध्ये ४ सय ६२ जनाको हृदयाघात देखिएको छ । साउदीमा भनें स्वभाविक मृत्यु सवैभन्दा ठूलो देखिएको छ । सडक दुर्घटना पनि साउदीमा नेपालीको मृत्यु हुने अर्को मुख्य कारण हो ।
खाडीका देशहरुमा स्वभाविक मृत्यु वा हृदयाघातको समस्या ठूलो देखिएको छ । तर २० देखि ३० बर्ष उमेर समुहका व्यक्तिमा समेत यस्तो समस्या धेरै देखिएका कारण सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा कार्यरतहरु यसलाई मान्न तयार छैनन । उनीहरु ति देशमा हुने मृत्यु पश्चात पोष्टमार्टममा गरिने हेलचेक्रयाईं र घटनालाई सामान्यिकरण गर्ने प्रयासका कारण यस्तो तथ्याँक अगाडी सारिएको तर्क गर्छन् ।
खाडीका देशमा कार्यरत नेपालीले राती सुत्दा विशेष ध्यान दिन जरुरी भएको यस क्षेत्रमा कार्यरतहरु बताउँछन् । कामबाट फर्केर आएपछि तत्काल नसुत्ने, एसीलाई बढी चिसो बनाएर नसुत्ने, चिसो पेय पदार्थ बाहिर गर्मीबाट फर्केर आएपछि तत्काल धेरै नखान उनीहरुको सुझाव छ । यसैगरी धेरै चिन्ता नलिने, एक्लै नबस्ने तथा खानपानमा विशेष ध्यान दिन जरुरी रहेको उनीहरुको भनाई छ ।
(यो सामग्री आइएलओद्धारा प्रकाशित पुस्तक ‘ह्वेन द सेफ्टी अफ नेपाली माइग्रेण्ट वर्कर्स फेल’ मा आधारित रहेर तयार पारिएको हो ।)
