काठमाडौं, भदौ २०
बैदेशिक रोजगार ऐन २०६४ मा संशोधन गरी नयाँ ऐन बनाउने विषयमा कार्यदलको बैठक सोमवार पनि जारी छ । यसअघि आइतवार पनि कार्यदलको बैठक बसेको थियो । कार्यदलको बैठकमा ऐन संशोधनमा के कस्ता विषय थप्ने र के हटाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
कार्यदलमा सरकारी प्रतिनिधि, मेनपावर व्यवसायी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता छ । बैठकमा बैदेशिक रोजगार व्यवस्थापन व्यूरो गठनको प्रस्ताव गरिएको छ । सो व्यूरोमा मेनपावर व्यवसायी तथा ट्रेड यूनियनका तर्फबाट एक एकजना प्रतिनिधि राख्ने र बाँकी सरकारी अधिकारी राख्ने प्रस्ताव गरिएको छ । यसमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको प्रतिनिधित्व हुनुपर्ने आवाज नागरिक समाजका तर्फबाट उठाइएको छ ।
बैदेशिक रोजगार ऐन, २०६४ को प्रस्तावनामा लेखिएको कामदार तथा व्यवसायीको हीत गर्ने वाक्याँशको स्थानमा कामदार मात्र राख्न पनि नागरिक समाजका तर्फबाट प्रस्ताव गरिएको छ । तर व्यवसायीले भनें ऐनले व्यवसायीको हीतलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने तर्क गरेका छन् ।
कार्यदलको बैठकमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका तर्फबाट अध्यक्ष सिद्धिचन्द्र बराल, आइएलओकी भारती पोखरेल, बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल, महासचिव रोहण गुरुङ, पूर्व अध्यक्ष बलबहादुर तामाङ लगायत सहभागि छन् ।