
भाद्र २० क्वालालम्पुर
मलेसियाको सुँगाईब्लोह स्थित एक कम्पनिमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका रत्न बहादुर लिम्बुको मृत्यु भएको छ । सिजुवा ८, मोरङ घर भएका ४३ बर्षिय लिम्बुको सुँगाईब्लोह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
लामो समयदेखि घाँटिमा पिलो आएपछि क्लिनिकमा उपचार गरेको र पछि निको नहुदा क्लिनीकले सुँगाईब्लोह अस्पतालमा रिफर गरेको तर पैसाको अभावमा उपचार गर्न नसकिएको उनका साथिहरुले बताए ।
रत्न दाइको नामले चिनिने लिम्बु करिब १० बर्षदेखि मलेसियामा काम गर्दै आएको उनीसँगै काम गर्ने गजेन्द्र जिमिले बताए । गजेन्द्रका अनुसार लिम्बु अबैधानिक कामदार भएका कारण शवलाई नेपाल पठाउन समस्या परिरहेको छ । मृतकको शव अहिले सुँगाईब्लोह अस्पतालमा राखिएको छ । मृतकका साथि जिमिका अनुसार अस्पतालले आर एम १५ हजार दिएपछि शव पठाउने ब्यबस्था गरिदिने बताएको छ । आफुहरुसंग त्यत्रो पैसा नभएको भन्ने जानकारी गराएपछि उपचार खर्च ५ हजार र नेपाल पठाउनको लागि ४ हजार ५ सय दिए शव पठाउने ब्यवस्था गरीदिने अस्पताल स्रोतले जनाएको छ ।
लिम्बुले काम गर्ने कम्पनी मालिकलाई शव नेपाल पठाउने बारे कुरा गर्दा तलब सहित आर एम २७ सय मात्र दिने बताउदै आएको छ । लिम्बू र जिमि दुई जना मात्रले सेक्युरिटी कम्पनिबाट कन्ट्याक्ट्मा त्यहा काम गर्दैे आएको भएपनि कम्पनिको अन्य बिवरण खुल्न सकेको छैन । घरपरिवारको आर्थिक अवस्था निकै कमजोर भएको हुदा शव नेपाल झिकाउन मृतकको आमा भीमा देबि लिम्बुले सबैसँग सहयोगको लागि याचना गरेकी छिन् ।