काठमाडौं, भदौ १९
खाडीका मुलुकतर्फ लैजाँदै गरिएका २२ जना नेपाली महिलाको भारतको नयाँ दिल्लीबाट उद्धार गरिएको छ । दिल्लीको एक होटलमा राखिएका उनीहरुलाई उद्धार गरिएको र उनीहरुलाई लैजाने दुईजना मानव तस्करको खोजि भइरहेको प्रहरीले जनाएको छ ।
नेपाली दुतावास श्रोतका अनुसार उनीहरुलाई नयाँ दिल्लीस्थीत ईन्दिरा गान्धि अन्तराष्टिय विमानस्थल नजिकैको एक होटलबाट उद्धार गरिएको हो । सो होटलमा बन्धक झैं बनाइएका मध्ये एक महिला भागेर दुतावासमा पुग्न सफल भएपछि घटनाका बारेमा जानकारी प्राप्त भएको थियो । उनकै सुचनाका आधारमा प्रहरीले सो होटलमा छापा मारेको थियो ।
दिल्ली प्रहरीका रविन्द्र यादवले २२ नेपाली महिलाको उद्धार गरिएको र दुईजना संकास्पद अभियुक्तको खोजि भइरहेको जानकारी दिएको एएफपिले समाचार लेखेको छ । उनीहरुसँग भएको भिसाका आधारमा उनीहरु मध्ये बहुसंख्यक कतार र अन्य खाडीका देश उड्न तयार रहेको देखिएको प्रहरीको भनाई छ । उनीहरु एक हप्ता अगाडी दिल्ली पुगेको देखिएको प्रहरीले जानकारी दिएको छ ।
