
दोहा- कतारले गैरकानूनी रुपमा बस्दै आएका आप्रवासी कामदारलाई घरफिर्तिका लागि खोलेको आममाफीमा सहभागि हुनेको संख्या ठूलोे देखिएको छ । आममाफी अन्तर्गत घर फर्किन आवेदन दिनेहरुको लाममा पहिलो, दोश्रो दिन नै सयौंको संख्या देखिएको छ ।
सेप्टेम्वर १ तारिखदेखि तीन महिना भित्र आवेदन दिनेहरुले कुनै कानूनी झण्झटविना स्वदेश फर्किन पाउनेछन् । आन्तरिक मन्त्रालयको साल्वारोड स्थीत सर्च एण्ड फलो डिपार्टमेण्टमा घरफिर्तिका लागि आवेदन दिन चाहने सयौं व्यक्ति हरेक दिन पुग्ने गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मन्त्रालयका एक अधिकारीलाई उधृत गर्दै तर त्यसमध्ये धेरैजसोसँग आवश्यक कागजात नभएको जनाइएको छ । सर्च एण्ड फलो डिपार्टमेण्टले अपरान्ह २ देखि साँझ ८ बजेसम्म व्यक्तिका समस्या सुन्दै आएको छ ।
त्यसरी घर फर्किन चाहनेहरुसँग भएको कागजात हेर्ने र आवश्यक कागजात पुगेकाहरुलाई आवेदन लिने लाइनमा राख्ने र कागजात नपुगेकाहरुलाई कागजात सहित आउन सल्लाह दिने गरिएको मन्त्रालयका ति अधिकारीले बताए । घर फर्किन चाहनेहरुसँग राहदानी वा ट्राभल डकुमेण्ट, घर फर्किने टिकट, कतारी परिचयपत्र वा कतार प्रवेश गर्दाको भिसाको प्रतिलिपि आवश्यक पर्छ ।
कतारस्थीत नेपाली दुतावासले पनि यसअघि नै प्रेस विज्ञप्ती जारी गर्दै अवैधानिक रुपमा कतारमा कार्यरत नेपालीलाई कतार सरकारले अगाडी सारेको आममाफी कार्यक्रममा सहभागि भएर स्वदेश फर्किन आग्रह गरेको छ ।
यो प्रकृयामा कसरी सहभागि हुने भन्ने जानकारीका लागि यो लिंकमा राखिएको सामग्रीले तपाईलाई सहयोग गर्न सक्छ