
काठमाडौं, भदौ १६
श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले आफूले फ्रिभिसा, फ्रिटिकटको पूर्व निर्णय फिर्ता लिने विषयमा आफूले केहि नबोलेको बताएका छन् । उनले आफूले रेमिट्यान्स किन घट्यो भन्ने बारेमा बुझेर आवश्यक कदम चाल्ने बताएको तर त्यसलाई गलत व्याख्या गरिएको बताए ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल तथा ट्रेड यूनियनका प्रतिनिधिहरुसँगको भेटका क्रममा मन्त्री गुरुङले यसबारेमा आफूले राम्रोसँग बुझ्नै बाँकी रहेको बताए । उनले सञ्चार माध्यमका आएका समाचारका पछि नलाग्न आग्रह गर्दै मन्त्रालयको काम कारवाही बारे आफूले सम्पूर्ण व्रिफिङ लिन बाँकी नै रहेको बताए ।
यसअघि सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले ध्यानाकर्षण बुझाउँदै मन्त्रीको भनाई र गराई फरक नहोस् भन्ने नागरिक समाजको अपेक्षा रहेको बताए । उनले भूकम्प पश्चात स्वदेशमा नै रोजगारीका अवशरहरु बढेको तथा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि रोजगारी घटेका कारण रेमिट्यान्स घटेको बताए । त्यसैले हाल चर्चा गरिएजस्तो फ्रिभिसा, फ्रिटिकटका कारण रेमिट्यान्स नघटेको अध्यक्ष बरालको तर्क थियो । उनले यसका बारेमा विज्ञसहितको छलफल गर्न आफूहरु तयार रहेको बताए ।
यसअघि व्यवसायीहरुसँगको भेटमा मन्त्री गुरुङले फ्रिभिसा, फ्रिटिकटको निर्णय पश्चात मान्छे धेरै गएका भएमा रेमिट्यान्स नघट्नु पर्ने थियो भन्दै पूर्व निर्णय उल्टिने संकेत गरेको सञ्चारमाध्यममा खवर सार्वजनिक भएको थियो ।