रञ्जना लम्साल, नवलपरासी, भदौ १०
रोजगारीका लागि साउदी पुगेका नवलपरासीका एक व्यक्तिको मृत्यु भएको छ । साढे दुई बर्ष अघि रोजगारीका लागि गएका तम्सरीया ५, नवलपरासीका खुईतप्रसाद महतो (४६) को हृदयाघातका कारण मृत्यु भएको हो ।
गत बुधवार दिउँसो ३ बजे उनको मृत्यु भएको परिवारलाई खवर प्राप्त भएको उनका भाई खेमबहादुर महतोले जानकारी दिएका छन् । दुई सन्तानका पिता महतो साउदी ईलेक्ट्रिसिटी कम्पनीमा चालकको काम गर्ने गर्दथे ।
१० बर्षदेखि सो कम्पनीमा कार्यरत उनी विरामी भएर अस्पताल लैजाने क्रममा नै मृत्यु भएको जानकारी परिवारले पाएको छ । उनको शव नेपाल झिकाउने व्यवस्था मिलाईदिन महतो परिवारले कावासोतीस्थीत सुचना केन्द्रमा निवेदन दिएका छन् ।
साउदी, कतार लगायतका देशहरुमा हृदयाघातबाट मृत्यु हुनेहरुको संख्या ठूलो छ । तर यसरी मृत्यु हुनेहरु हृदयाघातबाट नभई अन्य कारणबाट हुने तर क्षतिपूर्ति दिनु नपर्ने भएकाले अधिकाँश घटनालाई हृदयाघातको पोष्टमार्टम रिपोर्ट बनाउने गरेको अधिकारकर्मीहरु बताउँछन् ।