काठमाडौं, भदौ १०
सुरक्षित बैदेशिक रोजगारका क्षेत्रमा सञ्जाल निर्माणका विषयमा विडव्लुआई, नेपाल कार्यालयले सरोकारवालाहरुसँग छलफल गरेको छ । छलफलका सहभागिहरुले यस्तो सञ्जालले बैदेशिक रोजगारीमा जाने युवालाई सहयोग पुग्ने भन्दै यसका लागि सकेसम्म धेरै क्षेत्रलाई समेट्न सुझाव दिएका छन् । विडव्लुआई निर्माण क्षेत्रका श्रमिकहरुको अन्तराष्ट्रिय ट्रेड यूनियन हो जसमा नेपालका निर्माण क्षेत्रका मुख्य यूनियनहरु सदस्य छन् ।
सो छलफलमा बोल्दै विडव्लुआई नेपाल कार्यालयका संयोजक जेबी गुरुङले नेपालीका लागि बैदेशिक रोजगार रहर नभई बाध्यता भएको भन्दै त्यसलाई सुरक्षित बनाउनुपर्ने खाँचो औंल्याए । उनले निर्माण क्षेत्रका श्रमिकले मध्यपूर्वका देशहरुमा बढी जोखिमपूर्वक काम गरिरहेको भन्दै त्यसैले आफूहरुले अधिकारमूखि अभियानसँगै सचेतनाका कार्यक्रमहरु पनि अगाडी बढाएको बताए ।
छलफलमा बोल्दै अनुसन्धानकर्ता उद्धवराज पौडेलले नीतिगत सुधारमा ट्रेड यूनियनहरुको ध्यान केन्दीत हुनुपर्ने भन्दै त्यसमा अझ धेरै सक्रियता देखाउन आग्रह गरे । उनले नेपालमा पर्याप्त रोजगारकिो अवशर नभएसम्म बैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमी नआउने भन्दै ट्रेड यूनियन, गैरसरकारी संघसंस्था, सञ्चारमाध्यम तथा मेनपावर व्यवसायीबीच हातेमालो गरेर जानुपर्ने खाँचो औल्याए ।
नेपाल ट्रेड यूनियन काँग्रेसका उपमहासचिव सञ्जय मिश्रले ट्रेड यूनियनका नेताहरुले स्वयंसेवी रुपमा काम गरिरहेको भन्दै आफ्नो यूनियन बैदेशिक रोजगारीलाई सुरक्षित बनाउने दिशामा कार्यरत रहेको बताए । उनले रेमिट्यान्स मार्फत भित्रिरहेको ठूलो रकम अन्य वस्तु खरिदका लागि विदेश गइरहेको भन्दै रेमिट्यान्स नआउने हो भनें त्यसले निम्त्याउने अवस्थाको कल्पना पनि गर्न नसकिने बताए ।
प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) का अध्यक्ष कुलप्रसाद कार्कीले विदेशमा नेपालीले अत्यन्त कष्टपूर्वक काम गरिरहेको भन्दै आफ्नो संस्थाले सुरक्षित बैदेशिक रोजगारका पक्षमा विविध प्रकारका काम गरिरहेको बताए । उनले बैदेशिक रोजगारका नाममा देखिएका समस्या मध्ये ९० प्रतिशत नेपालमा नै हुने भन्दै त्यसलाई रोक्न अझ बलियो साझेदारीको खाँचो औंल्याए । राजनीतिक दलहरुले आफ्ना भातृ संगठन मार्फत यसलाई अगाडी बढाएमा त्यो प्रभावकारी हुने उनको भनाई थियो ।
विडव्लुआई एनएसीका प्रदीप आचार्यले नेपालीको बैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थीत र मर्यादित बनाउने उद्धेश्यले आफूहरुले विविध प्रकारले काम गरिरहेको बताए । उनले बैदेशिक रोजगारलाई अझ व्यवस्थीत बनाउनका लागि यस क्षेत्रमा कार्यरतहरु बीच एक बलियो संयन्त्रको आवश्यकता महशुश गरेर छलफल आयोजना गरिएको बताए ।
छलफलमा जिफन्टका प्रतिनिधि आईबहादुर खत्री, एनटीयूसीका कुमार पन्त, विडव्लुआईका उषा अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए ।
