काठमाडौं, भदौ ९
एसिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च(एसियन फोरम) को १२ औं साधारण सभा सम्पन्न भएको छ । फोरमले काठमाडौंमा चियापान तथा शुभकामना कार्यक्रम आयोजना गरी स्थापनाको १२ औं बर्ष मनायो ।फोरमले सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा सचेतनामूलक कार्यक्रमका साथै बैदेशिक रोजगारीबाट फर्केका नेपालीहरुलाई पुनस्र्थापनाका क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
साधारणसभामा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णु लम्सालले कुनै पनि संस्था समयले नभई त्यसले गर्ने कामले समाजमा परिचित हुने बताए । उनले समाजले स्वीकारे मात्र त्यस्तो संस्था हुनुको अर्थ हुने भन्दै त्यसमा एसियन फोरम सफल भएको बताए । उनले एसियन फोरमले सञ्चालन गर्दै आएका कार्यक्रमले समाजलाई फाइदा पुगिरहेको भन्दै यसमा अझ सक्रिय भएर अगाडी बढ्न आग्रह गरे । उनलेले बैदेशिक रोजगारी पछिको पुनस्र्थापनामा राज्यले गर्नुपर्ने काम गरिरहेको भन्दै एसियन फोरमलाई धन्यवाद पनि दिए ।
सचिव लम्सालले सरकारले गतबर्ष देखि फ्रिभिसा र फ्रिटिकटको निर्णय कार्यान्वयन गरिरहेको भएपनि यो प्रभावकारी रुपमा लागु नभएको गुनासो आफूहरुले पनि सुनिरहेको बताए । उनले यसमा सवै क्षेत्रको हातेमालो जरुरी रहेको भन्दै खुसुक्क गएर कसैले पनि धेरै पैसा नबुझाउन आग्रह गरे ।
यसअघि संस्थाका अध्यक्ष निरज थापाले आफूहरु केहि बर्षयता मात्र कार्यरत रहेको भन्दै आफ्नो संस्था भर्खरै बामे सर्दै गरेको बताए । थापाले एसियन फोरमले गर्दै आएका कामका बारेमा संक्षिप्तमा जानकारी गराए । यसैगरी संस्थाका कार्यकारी निर्देशक सिद्धिचन्द्र बरालले सचिव लम्साललाई संस्थाले सञ्चालन गर्दै आएका स्वास्थ्य कार्यक्रम, होम स्टे, बैदेशिक रोजगारमा लक्षित सुचनामुलक कार्यक्रम, विद्यालय सहयोग कार्यक्रम लगायतका बारेमा जानकारी गराए ।
यसैबीच साधारणसभाले एसियन फोरमको नयाँ कार्यसमिति चयन गरेको छ । निरज थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा गठित कार्यसमितिको उपाध्यक्ष किस्मतमणि श्रेष्ठ, महासचिव भक्तराम लामिछाने, सचिव श्रीकृष्ण अधिकारी तथा कोषाध्यक्षमा मनबहादुर श्रेष्ठ, आसिक चयन भएका छन् । सदस्यहरुमा भूपेन्द्र खत्री र विजय गुरुङ चयन भए । बाँकी दुईजना मनोनित गरिने कार्यकारी निर्देशक बरालले बताए ।
यसैगरी मध्यमाञ्चलका अध्यक्ष शिवचन्द्र मण्डल र पश्चिमाञ्चल अध्यक्ष जुन गुरुङ पदेन सदस्य भएका छन् । बाँकी तीन क्षेत्रमा अधिवेशन पश्चात सो क्षेत्रका अध्यक्षहरु स्वतः पदेन सदस्य हुने व्यवस्था छ ।