
रञ्जना लम्साल, नवलपरासी, भदौ ९
उनी हुन देउबहादुर बराल । नवलपरासीको देवचुली नगरपालिका ९ घर भएका उनी १५ महिनाको कतार बसाईपछि स्वदेश फर्र्किएका हुन् । कतारको प्रचण्ड गर्मी । सास फेर्न नै मुस्किल पर्ने हपहपी बनाउँछ । सानो क्षेत्रफलमा केहि भवनहरु बनेका र केहि क्षेत्रमा बन्दै गरेका भएपनि धेरैजसो ठाउँ गेग्रयान छ । हेर्दै उराठलाग्दो । तर त्यहि बीचमा कतारले ठूलो मेहनत गरेर हरियाली पनि बनाएको छ । खजुरका बोटहरु मात्र होइन, कतारले ठूलो लगानीका साथ हरियाली क्षेत्र विस्तार गर्दैछ । त्यहि कतारमा २०७१ सालमा उत्रेका थिए देउबहादुर ।
कतार, थुप्रै नेपालीका लागि एउटा मुख्य गन्तव्य मुलुक । तर त्यहाँ काम गर्ने जाने मध्ये धेरैजसो कुनै सीप नसिकी जाने गरेका छन् । फलस्वरुप नेपालीको भागमा पर्छ अप्ठ्यारो काम र थोरै आम्दानी । तर देउबहादुर कतार जाँदा सीप सिकेर गएका थिए । सामी परियोजनाले सहयोग गरिरहेको एफस्कीलबाट उनले तालिम लिए र गए कतार । लागत पनि तुलनात्मक रुपमा उनलाई अरुको भन्दा थोरै नै परेको थियो । उनले ४५ हजार लगानी गरेका थिए कतार जान ।
हुन त उनलाई पनि नेपालमा भनिएजति तलव दिइएन । ११ सय मासिक तलवको शर्तमा गएका उनलाई १ हजार दिइयो । तर पनि ओभर टाईम काम र आफ्नो मेहनतले १५ महिनाको बसाईमा जाँदाको ऋण तिरेर २ लाख बचाउन सफल भए उनी ।
ईलेक्ट्रीसीयनको काम सिकेर हेल्परको रुपमा गएका उनले अब ईलेक्ट्रीसीयनमा नै काम गर्न सक्छु भन्दै हेल्परको रुपमा २ बर्ष बिताउन चाहेनन् । त्यसैले उनी नेपाल फर्किए । “मैले काम गर्ने ठाउँमा ईलेक्ट्रीसीयनको काममा बढुवा हुने सम्भावना छैन'” उनी भन्छन् “त्यसैले नेपाल फकिएँ र अव म ईलेक्ट्रीसीयनको काममा जान्छु ।” सीप सिकेर बिदेश जाँदा अन्तर्वार्ताको चरण देखि नै सजिलो हुने उनको अनुभव छ । सीप नसिकी कतार पुग्दा थुप्रैले मासिक ५-६ सय रियाल तलवमा काम गरिरहनु परेको भन्दै उनी भन्छन् : बिदेश त्यसै पनि सजिलो छैन, अझ सीप नसिकी जाँदा झनै अप्ठ्यारो छ ।