
युएई- राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमले ३१ वर्षदेखि काठमाडौं–दुबई सेक्टरमा उडान गर्दै आएको थियो। व्यवस्थापकीय समस्याका कारण सन् २०१२ पछि निगमका जहाज यहाँ आउन छोडेका थिए। चार लाखभन्दा बढी नेपाली कामदार रहेको युएईमा चार वर्ष अन्तरालपछि नेवानिले गत बिहीबार फेरि उडान सुरु गरेको हो। दुबई निगमको ८ औं गन्तव्य हो। आठौं गन्तव्य सुरु भएको अवसरमा दुबईमा निगमले भव्य कार्यक्रम गरेको छ।
नेपाली दुतावास युएईका कार्यवाहक राजदुत नेत्रबहादुर टन्डन, नेवानि प्रबन्ध निर्देशक सुगत रत्न कंशकर, नेपाल नागरिक उड्डयन प्राधिकरणका उप निर्देशक राजकुमार क्षेत्री, नेवानिका व्यावसायिक निर्देशक जनकराज कलाखेती र नेवानि युएईको जिएसए अजमान नेशनल ट्राभल एजेन्सीका जनरल म्यानेजर कुमार जगदिशले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरे।
निगमले दुबई उडान फेरि सुरु गरेको अवसरमा युएई सरकारको तर्फबाट अजमान अदालतका न्यायाधीश शेख अलि बिन मोहम्मदले कार्यवाहक राजदुत नेत्र बहादुर टन्डन, प्रबन्ध निर्देशक सुगत रत्न कंशकार र राजकुमार क्षेत्रीलाई पुष्प गुच्छा प्रदान गर्दै स्वागत गरेका थिए।
उनले नेपालीको खुलेर प्रशंसा गरेका थिए। ‘नेपालीहरुको लगनशीलता र इमान्दारी देखेर मलाई धेरै खुशी लाग्छ’, शेखले भने, ‘नेपालको बारेमा सुन्दा मलाई जान मन लागेको छ। कुनै दिन म नेपाल जानेछु।’
कार्यक्रममा बोल्दै युएइका लागि नेपाली कार्यवाहक राजदूत टन्डनले विगतका गल्तीबाट पाठ सिकेर राष्ट्रियध्वजाबाहक अघि बढ्नुपर्ने बताए। समयमा उडान, चुस्त व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले औंल्याए। ‘यी दुई पक्षमा ध्यान पुर्याए दुबईबाट हप्ताको तीन दिन मात्र होइन हरेक दिन उडान गर्न सकिनेछ’, उनले भने।
नेवानिका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारले दुबई काठमाडौं सेक्टरमा हरेक दिन उडान गर्ने तयारी भइरहेको सुनाए। देशको अर्थतन्त्र र राष्ट्रिय विकासको लागि नेवानिलाई सबै देशहरुमा उडान गरी पर्यटन पर्वद्वनमा लाग्नुपर्ने उनको भनाइ थियो। नवौं गन्तव्य नेबानिले चीनको सहर हुने उनले सुनाए।
कार्यक्रममा क्विज कम्पिटिसन गरी नेपाल र नेवानिको बारेमा बताउने पाँच विजेताहरु र लक्की ड्र मार्फत जित्ने तीन जना विजेता गरी आठ जना विजेताहरुलाई विभिन्न किसिमका पुरस्कारहरु वितरण गरिएको थियो। कार्यक्रममा नेवानिको प्रोफायल कन्ट्री म्यानेजर रमेश पौडेलले देखाएका थिए।
अजमान नेशनल ट्राभल एजेन्सीका जनरल म्यानेजर कुमार जगदीशले नेवानिलाई नेपालीले दिएको साथले खुसी रहेको बताउँदै उपस्थित सबैलाई धन्यबाद दिएका थिए।
निगमले गत आर्थिक वर्ष २०७२ ७३ मा अन्तर्राष्ट्रिय सेवाबाट कुल ११ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको तथ्यांक संकलन गरे पनि उडानबाट मात्र उसले ७ अर्ब ५७ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ। दुबई रुटको फ्लाइटबाट आम्दानी एक अर्ब बढ्ने विश्वास निगमको छ।
गएको आर्थिक वर्ष २ हजार ७ सय ६६ उडान गर्ने लक्ष्य लिएको निगमले २ हजार ७ सय ३६ उडान गर्न सफल भएको थियो। यो भनेको लक्ष्यको ९८ प्रतिशत हो। निगमले चार ठूला जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आए पनि पछिल्लो दुई महिनायता तीन जहाजमा खुम्चिएको छ। गत आर्थिक वर्ष एकदेखि डेढ महिनाजति एउटा बोइङ जहाज उड्न नसक्ने गरी थन्किएको थियो। त्यसबाहेक पूरै अवधि चार जहाजले अन्तर्राष्ट्रिय उडान गरेका थिए।
निगमले काठमाडौंबाट भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर, कतारको दोहा तथा हङकङ उडान गरिरहेको छ। दिल्लीका लागि दैनिक दुई, मुम्बई र बैंगलोर साताका तीन, मलेसिया सातामा पाँचलगायत उडान गर्दा दैनिक औसत ७ अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। आठौं गन्तव्यका रुपमा दुबई जान थालेको हो। प्रत्येक साता तीन दिन आइत, मंगल र बिहीबार काठमाडौंबाट सिधा दुबई उडान भइरहेका छन्।
नागरिकबाट