
कतार- कतार सरकारले कम्पनी छाडेर भागेर काम गर्दै आएका आप्रबासी कामदारको लागि आममाफी खोलेको छ । यस्ता कामदारहरु अब बिना सजाय आफ्नो देश जान पाउने भएका छन् ।
कतारको आन्तरिक मन्त्रालयले बुधबार सूचना जारी गर्दै गैरकानुनी ढंगले कतारमा बस्दै आएका आप्रबासीहरु कामदारलाई स्वदेश फिर्ने वातावण बनाएको जनाएको छ । यो १२ बर्षपछि खुलेको हो । आममाफी आउदो सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म लागू हुनेछ । कतारमा गैरकानुनी रुपमा बसेर काम गर्दै आएका नेपालीसहित आप्रबासी कामदार आफमाफीको प्रतिक्षामा बसिरहेका थिए । एसियाली देशका दूताबासहरुले कतार सरकारलाई आममाफी दिनको लागि सुझाव दिंदै आएका थिए ।
कतार सरकारले सन् २००९ को कानुन नं ४ को प्रवेश, गमन, आवासीय र स्पोन्सरसीप सम्बन्धी कानुन उलंघन गरेर बस्ने आप्रबासी कामदारको हकमा आममाफी आकर्षित हुने जनाएको छ । आममाफीमा स्वदेश फर्कनेलाई कामदारलाई दुई बर्षपछि कतारमा काम गर्न आउन पाउने ब्यवस्था गरेको आन्तरिक मन्त्रालयले जनाएको छ । ‘आममाफीको खबरलाई म निक्कै खुसी छु । म यसैको प्रतिक्षामा थिएँ’, झन्डै १६ बर्षदेखि घर नफिरेका रुपन्देहीका यमनाथ चापागाईँले भने, ‘म कतारमै काम गर्न चाहन्थें । त्यतिकै घर फिरे यहाँ आउन पाउने अवस्था थिएन ।’
आन्तरिक मन्त्रालयले आममाफीको सुबिधा लिएर घर फिर्न चाहनेलाई कतारको सल्वारोडस्थित खोज तथा अनुगमन बिभाग (सर्च एण्ड फलोअप डिर्पाटमेन्ट, जसलाई नेपालीले सिआइडी भनेर चिन्ने गर्छन) मा सम्पर्क गर्न भनेको छ । यो बिभागमा कम्पनीले एक्जिट पेपर (खु्रज पेपर) नदिएर स्वदेश फिर्न नपाएकाहरुलाई सहजीकरण गरिदिन पुग्ने गरेको छ । मन्त्रालयका अनुसार दैनिक दुई सय भन्दा बढी कामदार पुग्ने गरेका छन् ।
कतारमा झन्डै चार लाख नेपाली कार्यरत रहेकोमा करिब ३ लाख ७५ हजार जना नेपालीले आबासीय अनुमति लिएर बसेका छन् । गैरकानुनी कामदाकारे संख्या एकिन नभए करिब १५ देखि २० हजार नेपाली रहेको अनुमान गरिएको छ । नेपाली दुताबासका अनुसार त्यस हैसियतमा भएकाहरु स्वदेश फिर्नका लागि दैनिक २० देखि ३० जना सहजीकरणको लागि दुताबास आउने गरेका छन् ।
नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौताअनुसार कम्पनी, तबल, काम र सेवासुबिधा नभएपछि नेपालीहरु गैरकानुनी भएर बाहिर काम गर्ने गरेका छन् । त्यस्ता कामदारहरु बिशेष गरी प्रहरीबाट बच्नको लागि मरुभुमिमा भेडा चराउने, खेतीपातीको काम गर्ने र बिभिन्न कम्पनीमा गएर लुकेर काम गर्ने गरेका छन् । ‘म यतिखेर उँट चराउने काम गरिरहेको छु । कम्पनीले नियममित तलब दिएको भए भागेर यस्तो कठिन जीवन जीउनपर्ने अवस्था थिएन’, सिन्धुलीका श्याम परियारले भने ।
कतार सरकारले यसअघि सन् २००४ मा मार्च २१ देखि जुन २० सम्मको लागि आममाफी दिएको थियो । त्यस बेला समय अवधि थप गरिएको थिएन । त्यस बेला ६ हजार गैरकानुनी हैसियत भएका आप्रबासी कामदार स्वदेश फर्किएका थिए । त्यस बेला कतारमा ६ लाख ५० हजार जनंसख्या थियो । अहिले कतारको जनसंख्या करिब २५ लाख पुगिसकेको छ । लामो समयमा आममाफी खुलेकोले धेरै गैरकानुनी कामदारले यस अभियानमा सहभागी हुने अपेक्षा गरिएको छ ।
कान्तिपुरबाट