
काठमाडौं, भदौ ३- नेपालका प्रमुख रोजगार गन्तव्य मुलुक मलेसिया र साउदी अरब सरकारले सस्तोमा बंगलादेशी कामदार लिन थालेपछि नेपालको वैदेशिक रोजगार बजार प्रभावित हुने भएको छ । सरकारले पूर्ण गृहकार्य नगरी ‘फ्रि भिसा फ्रि टिकट’को नियम लागू गरेपछि नेपालीले विदेशमा पाउने रोजगार गुमाउँदै गएको देखिन्छ ।
सरकारले सम्बन्धित रोजगार गन्तव्य मुलुकसँग छलफल नगरी शून्य लागत लागू गर्दा यसको प्रभाव नेपाली कामदारको मागमा परेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ बताउँछन् । “नेपालको वैदेशिक रोजगार कानुन र गन्तव्य मुलुककोे विदेशी कामदारसम्बन्धी कानुनबीच तालमेल नहुँदा नेपाल आउने माग घटिरहेको छ,” उनले भने, “नेपाल सरकारले रोजगारदाता मुलुकसँग बसेर समस्या समाधान गर्नुपर्छ ।”
सरकारले वैदेशिक रोजगारीको अवसर प्रयोग गर्न आवश्यक मानिएको गन्तव्य मुलुकसँगको श्रम सम्झौता पनि गर्न सकेको छैन । हालसम्म ५ वटा मुलुकसँग मात्र श्रमसम्झौता भएको छ । १०७ वटा मुलुक नेपाली कामदारका लागि रोजगार खुला भए पनि कोरिया, यूएई, कतार, बहराईन र जापानसँग मात्र श्रमसम्झौता भएको छ ।
खाडी मुलुक, मलेसिया, कोरियालगायत अन्य प्रमुख गन्तव्य मुलुकमा वैदेशिक रोजगारीको बजार प्रवद्र्धन गर्ने विषयमा नेपाल सरकारको कमजोरीका कारण नेपालीले रोजगार गुमाउँदै गएका छन् । अन्य देशका सरकार प्रमुखले आफ्ना कामदार जाने मुलुकको बर्सेनि उच्चस्तरीय भ्रमण गरेर आफ्ना नागरिकका लागि रोजगार प्रवद्र्धनका कार्यक्रम गर्ने भए पनि नेपाल सरकारले भने त्यसो गरेको देखिँदैन ।
नेपालका प्रमुख गन्तव्य मुलुकमा मलेसिया, कतार, साउदी अरब, यूएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया, लेबनान, इजरायल, अफनानिस्तान, जापान, मकाउ आदि प्रमुख हुन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७२र०७३ मा बिदेसिने नेपाली युवाको संख्या १८ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आव ०७२र७३ मा ४ लाख १८ हजार ७१३ युवा रोजगारी लागि बिदेसिएका छन् । आव ०७१र०७२ मा यो संख्या ५ लाख १२ हजार ६८७ थियो ।
कारोवारबाट