
राजविराज- दूधबाट आम्दानी भएपछि खेती छाडेर सप्तरीको तेरहौतामा गाई पाल्ने लहर चलेको छ । कतिपय युवा विदेश जाने सोच त्यागेर गाईपालनमा लागेका छन् । स्थानीय किसान बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रबजारले दूध चिस्यान केन्द्र स्थापना गरेर संकलन गर्ने प्रबन्ध मिलाएपछि यहाँका किसान व्यावसायिक गाईपालनतर्फ आकर्षित भएको संस्थाका अध्यक्ष श्यामकुमार चौधरीले बताए ।
यस क्षेत्रमा परम्परागत रूपमा खेती गरिँदै आए पनि राम्रो आम्दानी लिन नसकेका यहाँका कृषकलाई सहकारी संस्थाले व्यवस्थित गरिदिएपछि व्यावसायिक गाईपालनतर्फ लागेको स्थानीय बताउँछन् । सहकारीले दूध किन्ने र गाई किन्न लगानी पनि गर्ने भएकोले कृषक उत्साहित भएको डिकबहादुर तामाङले बताए । खेतबारीमा बिताउने समयको साटो तामाङलाई गाईको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । गाईपालनमा व्यस्त भएपछि अहिले उनको हातमा सधैं दूध र नगद पैसा हुन्छ ।
चितवनबाट ल्याएको जर्सी गाईको परीक्षण राम्रो भएपछि उन्नत जातका गाई ल्याई पाल्ने होडबाजी नै चलेको रामबहादुर कार्कीको भनाइ छ । गोठमा भएका चार दुहुना गाईको दूध बेचेर मासिक ९० हजार आम्दानी लिने गरेको बताउँदै उनले भने, ‘घरपरिवार छाडी विदेशमा गएर रगत पसिना बेच्नुभन्दा गाउँमै परि श्रम गरे राम्रो कमाइ गर्न सकिन्छ ।’
एउटा गाईले १० देखि १५ लिटरसम्म दूध दिन्छ । दूध बेचेर घरैपिच्छे कमाइ भएको र यसले गाउँकै मुहार फेरिएको दुईवटा गाई पालेका हर्कबहादुर कटुवालले बताए । कार्की, तामाङ र कटुवालको मात्रै होइन, हातमा हँसिया, कोदालो र हलो नटुट्ने यहाँका थुप्रै कृषकको हातमा दूध हुन थालेको छ । सजिलो र एकै ठाउँमा बसेर काम गर्न सकिने आम्दानीमूलक पेसा भएकाले गाईपालनमा लागेको मनोज दासले बताए ।
‘अन्न खेतीमा दिनरात घोटिँदा पनि बाढी र खडेरीले आम्दानी शून्य हुन्थ्यो तर गाईपालनबाट एकै ठाउँमा बसेर सजिलैसँग काम गरेर आम्दानी लिन सकिन्छ, तीन गाई पालेका दासले भने, ‘अन्न खेतीभन्दा यसमा तेब्बर आम्दानी छ, घरपरिवारमा दैनिक खर्च चलाउन पनि निकै सजिलो भएको छ ।’
खेती किसानीभन्दा गाईपालनबाट धेरै आम्दानी हुने देखेपछि तिलकबहादुर मगर, रोहित मगर, बमबहादुर राउत, इसाक मन्सुरी र शिवनारायण यादवले पनि दुईदुईवटा गाई पालेका छन् । गाईको नश्ल विकासका लागि एउटा साँढेसमेत चितबनबाटै ल्याएका किसान गाईको संख्या बढाउने तयारीमा छन् ।
दूध बेचेर वर्षमा वार्षिक चार/पाँच लाख रुपैयाँसम्म आम्दानी भएको देखेर अन्य कृषक पनि गाई ल्याउने तयारीमा रहेको सीतापुर १ का शिवनारायण साहले जानकारी दिए । ‘उन्नत जातको गाईपालन व्यावसायिक रूपमा गर्दा राम्रै आम्दानी हुँदोरहेछ’, उनले भने, ‘अहिले लगानीकै चरणमा छु, अब थप गाई ल्याएर केही महिनादेखि दूध बेचेरै राम्रो आम्दानी लिन्छु ।’
‘गाईपालनबाट दोहोरो फाइदा हुँदोरहेछ’, बमबहादुर राउतले भने, ‘मल मूत्रबाट बालीनाली पनि सप्रिने, बाच्छाबाच्छी र दूध बेचेर आम्दानी पनि हुने ।’
डेरीका लागि आवश्यक पर्ने दूध बाहिर जिल्लाबाट आयात गनुपर्ने अवस्थामा गाउँमै रोजगारी सिर्जना गरेर दूध ल्याउन र युवा विदेश जाने समस्या कम गर्न स्थानीयले महत्वपूर्ण योगदान गरेको राजविराज ७ स्थित मिलन डेरी उद्योगका सञ्चालक राघोप्रसाद सिंहले बताए ।
अन्नपूर्ण पोष्टबाट