हरि कृष्ण न्यौपाने, कुवेत, साउन २९
कुवेतमा बढ्दो अबैधानिक कृयाकलाप र अबैधानिक कामदारहरुको चाप कम गर्नलाई कुवेत प्रहरीले लामो समय देखी सञ्चालन गरेको क्र्याकडाउन अभियानलाई पुनः बढाइएको छ। यो हप्ता मात्र कुवेतको बिभिन्न शहरबाट ३०० भन्दा बढी अबैधानिक रुपमा बसिरहेका कामदारहरुलाई गिरफ्तार गरिएको छ।
कुवेतको अनलाइन पोर्ट आइमानका अनुसार ११ अगष्ट बिहीवार बेलुका ६ः०० बजेबाट कुवेतको ६ गभर्नेटहरुमा गरिएको सुरक्षा जाँचका क्रममा १ सय २२ जना अबैधानिक आप्रबासी कामदारहरु पक्राउ परेका छन।
त्यसै गरी हावालीको बिभिन्न क्याफे तथा पसलहरुमा छापा मारी ६५ जना अबैधानिक कामदारहरुलाई पक्राउ गरिएको छ। जसमा फरक स्पोन्सरसिप, घरबाट भागेका घरेलु कामदारहरु पनि रहेका छन। साथै क्याफेहरुमा महिला कामदारहरुलाई निषेध गर्ने सरकारी लक्ष्यका साथ अगाडि बढाइएको र उक्त कानुनको उल्लङ्घन गरेमा क्याफेलाई बन्द समेत गरिने बताइएको छ। कुवेतको अमादीमा गरिएको अर्को चेक जाँचका क्रममा ५० जना अबैधानिक आप्रबासी पक्राउ परेका छन।
यो हप्ता अगष्ट ८ तारिक जिलिब क्षेत्रमा गरिएको क्रायाकडाउनमा ७१ जना पक्राउ परेका थिए भने अगष्ट ७ तारिक हवालीमा भएको अर्को सुरक्षा जाँचका क्रम ५८ जना अबैधानिक कामदारहरु पक्राउ परेका थिए।
यसैबीच कुवेतको गृहमन्त्रालयले कुवेतमा रहेका सम्पूर्ण आप्रबासी तथा कुवेती नागरिकलाई आफु हिड्डुल गर्दा वा काम तथा बासस्थानमा रहँदा समेत आफ्नो परिचय पत्र वा कागजात साथमा राखी सुरक्षा जाँचका क्रममा सहयोग गर्न अनुरोध गरेको छ।