काठमाडौं, साउन २८- प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले गैरआवासीय नेपाली संघले लाप्राकमा बनाउन लागेको नमुना वस्ती नेपालको पुनःनिर्माण अभियानका लागि उदाहरणीय र अनुकरणीय हुने विश्वास ब्यक्त गरेका छन् । संघका अध्यक्ष शेष घलेसँगको भेटमा प्रधानमन्त्री दाहालले भूकम्पका बेला प्रभावकारी राहत वितरण कार्यबाटै एनआरएनको क्षमता प्रष्ट भएको भन्दै पुनःनिर्माण अभियान पनि त्यस्तै अनुकरणीय हुने बिश्वास ब्यक्त गरे ।
सो अवसरमा प्रधानमन्त्री दाहालले पुनःनिर्माण अभियानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै यस क्रममा देखिएका गतिरोधलाई अन्त्य गरी एनआरएन जस्तो निस्वार्थ भावनाबाट सहयोग गर्न खोज्ने संस्थालाई मद्दत गर्न सरकार तयार रहेको वताए । सो अवशरमा अध्यक्ष घलेले संघले लाप्राकमा निर्माण गर्न लागेको नमूना बस्तीको अवधारणा प्रधानमन्त्री समक्ष प्रस्तुत गर्दै यसको कार्यान्वयन त्रिपक्षिय सम्झौता मुताविक गर्न संघ कटिवद्ध रहेको र गुरुयोजना बनाउने कामभई रहेको जानकारी गराए ।
भेटमा अध्यक्ष घलेले दाहाललाई प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा बधाइ दिँदै उनको नेतृत्वमा राष्ट्रले पुनःनिर्माणमा गति पाउने र संविधान कार्यान्वयनको मार्ग प्रशस्त भई मुलुक क्रमशः स्थायित्व र आर्थिक सम्बृद्धि तर्फ उन्मुख हुनेमा संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरु आशावादी रहेको बताए ।
अध्यक्ष घलेले नेपाल सरकारसँग हातेमालो गरेर अगाडी बढ्न गैरआवासीय नेपाली तत्पर र अग्रसर रहेको बताए । भुकम्प, नाकाबन्दी र लामो समयको राजनीतिक आन्दोलनका कारण जोखिममा रहेको मुलुकको अर्थव्यवस्था सुदृढ गर्नु र मुलुकलाई सम्बृद्धिको दिशातर्फ अग्रसर बनाउनु मुख्य चुनौती रहेको उनले औंल्याए ।
लालपूर्जा हस्तान्तरण गरेपछि पुनःनिर्माणः सीइओ ज्ञवाली
यसैवीच राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संघसँग भएको त्रिपक्षीय सम्झौता अनुसार नै लाप्राक पुनःनिर्माण अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् ।
संघका अध्यक्ष शेष घलेसँगको हालैको भेटमा सीइओ ज्ञवालीले अन्य गैरसरकारी संस्थालाई जस्तै एनआरएनलाई पनि रकम सेवाग्राहीको खातामा जम्मा गर्न लगाउने बिषयमा छलफल भएपनि सम्झौता अनुसार कामगर्न प्राधिकरण तयार रहेको बताए ।
गैरआवासीय नेपाली संघको अगुवाईमा लाप्राकमा ६ सय बढी घर भएको नमुना वस्ती बनाउनभएको सम्झौताअनुसार संघले हाल त्यसको गुरुयोजना निर्माण गरिरहेको छ । तर, हालै जिल्लास्थित अधिकारीहरुले गैरआवासीय नेपाली संघलाई सेवाग्राहीको खातामा रकम जम्मा गर्न ताकेता गरेपछि संघले पुनःनिर्माणको पूर्वनिर्धारित ढाँचामा परिवर्तन भएकोबारे प्राधिकरणसँग जवाफ मागेको थियो ।
जवाफमा सीइओ ज्ञवालीले गुरुयोजना निर्माण भएपछि सेवाग्राहीको नाममा जग्गाको स्वामित्वदिने कार्य सुरु हुने र त्यसलगत्तै एनआरएनले निर्माण कार्य सुरु गर्न सक्ने बताए । उनले संघको तर्फबाट गुरुयोजना पेश गर्दा योजनाको कार्यनीति, प्रकृयागत कार्यविधि र समय तालिका सहित पेश गर्न अनुरोध गरे ।
अध्यक्ष घलेले संघले नमूना बस्तीको लागि आवश्यक अन्य बस्तुहरुको बन्दोबस्तीको लागि बिभिन्न संस्थाहरुसँग समन्वय गरिरहेको जानकारी दिए । लाभग्राहिहरुको सहकारी खडा गरी त्यही सहकारी मार्फत पुनर्निर्माण सामुदायिक समितिबनाई निर्माण कार्य संचालन गर्ने तथा यस समितिलाई गैरअवासीय नेपाली संघका स्वयमसेवकहरुले सहयोग गर्ने प्रारभिक योजना रहेकोसमेत जानकारी दिए ।
www.facebook.com/deshparadesh
