कुवेतको जेलमा महिला धेरै, मलेसियामा पुरुष धेरै 

काठमाडौं- काभ्रे कुशादेवी–२ का २७ वर्षीय रामचन्द्र तिमल्सिना साउदी अरबको जेलमा सजाय भोगिरहेका छन् । तिमल्सिनाले चलाएको ट्रकले ठक्कर दिँदा एक पाकिस्तानीको मृत्यु भएको थियो । यही अभियोगमा उनी जेलमा छन् । समयमा पीडित पक्षले माग गरेको ‘ब्लड मनी’ उपलब्ध नगराए साउदी सरकारले उनलाई केही दिनभित्र मुत्युदण्ड दिने घोषणा गरेको छ ।

आर्थिक अवस्था कमजोर भएकाले आमा, बाबु, श्रीमती र दुई छोराछोरीको परिवार कसरी पैसा उठाउने भन्ने चिन्तामा छ । परिवारका अनुसार रामचन्द्र साउदीको हयालस्थित कारागारमा छन् । तिमल्सिना रोजगारीका लागि विदेश गएर गम्भीर अपराधको अभियोगमा जेलमा रहेका एक नेपाली हुन् । उनीजस्तो मुत्युदण्डको सजाय नपाए पनि आजीवन जेल सजाय पाएका हजारौं नेपाली रोजगारदाता मुलुकको जेलमा कष्टकर जीवन बिताइरहेका छन् । विदेशका विभिन्न जेलमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारी निकायसँग पनि छैन ।

पछिल्लो पटक आबुधाबीस्थित नेपाली दूतावासले गरेको अध्ययनअनुसार हत्या, मादक पदार्थ सेवन, वेश्यावृत्ति, सुरक्षा अभियोग, लागू औषध प्रयोग, मापसे गरी सवारीसाधन चलाएको, होहल्ला गरेको, ओभरस्टे तथा नक्कली कागजात बोकेको अभियोगमा धेरै नेपाली जेलमा छन् । दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले गरेको अध्ययन प्रतिवेदनअनुसार हत्या अभियोगमा मात्र ११ नेपाली कामदारले जेल सजाय पाएका छन् ।

खाडी तथा मलेसियामा नेपालीहरू जेलमा पर्ने प्रमुख कारण भने रक्सी सेवन हो । यूएईमा मात्र मदिराजन्य पदार्थ सेवनका कारण जेल पर्नेको संख्या ३४ छ । त्यसैगरी भिसाको अवधिभन्दा बढी बसेको अभियोग यूएईमा बसेका ९ नेपालीले जेल सजाय काटिरहेका छन् । नक्कली कागजात प्रयोग गरेको अभियोगमा ४ नेपाली जेलमा छन् ।

कुवेतको जेलमा महिला बढी

नेपाली महिलाका लागि आकर्षक रोजगार मुलुक कुवेतमा महिलाको संख्या बढी भएका कारण अन्य खाडी देशको तुलनामा त्यहाँ धेरै नेपाली महिला जेलमा छन् । कुवेतमा धेरै नेपाली महिला बलात्कार, शारीरि शोषण र अवैध गर्भधारण गरेको झुटो आरोपमा जेलमा पर्ने गरेका छन् । कुवेतमा घरेलु कामदारको रूपमा नेपालबाट अवैध रूपमा गएका नेपाली चेली रोजगारदाता मुलुकका पुरुषको यौन शोषणमा परी गर्भवती हुने गरेका छन् ।

यसरी गर्भवती भएका महिलाले बच्चाको बाबु प्रमाणित गर्न नसके जेल जानुपर्ने हुन्छ । अहिले पनि कुवेतको जेलमा ५ सयभन्दा बढी नेपाली चेली विभिन्न किसिमका मुद्दा खेप्दै जेलमा बस्न बाध्य हुनुपरेको छ । कतिपय नेपाली चेलीसँग बच्चासमेत जेलमा बसिरहेका छन् । विशेषगरी घरलु कामदारको पारिश्रमिकमा किचलो, अवैध बसेका र केही हत्या अभियोगसमेत लागेका कारण जेलमा परेका छन् ।

मलेसियाको जेलमा बढी नेपाली

सबैभन्दा बढी नेपाली मलेसियाको जेलमा रहेको सरकारी तथ्यांक छ । मलेसियाका विभिन्न जेलमा ५ सय २७ बढी नेपालीले विभिन्न किसिमका अपराध अभियोगमा बन्दी जीवन बिताइरहेका छन् । खाडी राष्ट्रको तुलनाका मलेसियाको जेललाई कठोर मानिन्छ । मलेसियामा पनि ओभरस्टे, नक्कली कागजात र भागौडाका मुद्दामा धेरैले जेल जीवन बिताइरहेका छन् ।

कारोवारबाट 

www.facebook.com/deshparadesh 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय