मस्कट, साउन २७
ओमानी भिषाको व्यापार सामाजिक सञ्जाल मार्फत केहि कम्पनीले गरिरहेको भेटिएको छ । ओमानको मानव संशाधन मन्त्रालयले यसले ओमानको कानून तोडेको भन्दै कारवाही गर्ने चेतावनी दिएको छ ।
ओमान टाइम्सका अनुसार विज्ञापन गर्नेहरु केहि ओमानमा नै रहेका छन् भनें कतिपय ओमान बाहिर समेत रहेका छन् । देशपरदेशसँगको कुराकानीमा ओमान टाइम्सका सम्वाददाता रेजिमन कुत्तपानले त्यस्ता कम्पनीहरुले भारतीयका लागि भिषा उपलव्ध गराउने भन्दै विज्ञापन गरेपनि नेपाली लगायत जुनसुकै देशका नागरिकका लागि पनि भिषा निकालिदिने बताए । उनले त्यस्ता कम्पनीहरुले भिषा निकालिदिए वापत सामान्यतया १ सयदेखि ३ सय ५० ओमानी रियाल सेवा शुल्क माग गर्ने गरेको बताए । उनका अनुसार डाक्टर, नर्स लगायतका उच्च दक्ष प्राविधिक काममा बढी शुल्क माग गर्ने गरिएको छ भनें सुरक्षा गार्ड लगायतका काममा न्यून शुल्क माग गरिन्छ ।
ओमानमा हाल १७ लाखको हाराहारीमा आप्रवासी कामदारले काम गरिरहेका छन् । त्यसमध्ये सामाजिक सञ्जाल मार्फत विज्ञापन गर्नेहरुले चिकिन्सक, नर्स, प्राविधिक, सुरक्षा गार्ड तथा घरेलु कामदारसम्म सवैको भिषा निकाल्न सकिने जानकारी दिएको ओमान टाइम्समा लेखिएको छ । विज्ञापन गर्नेहरुले ओमानमा जस्तोसुकै कामका लागि पनि भिषा निकाल्न सक्ने दावी गरेका छन् ।
तर यसरी भिषाको खरिदविक्रि ओमानको कानून अनुसार दण्डनिय काम हो । ओमानका मानव संशाधन मन्त्रालयका सल्लाहकार सलिम अल सादीले भिषा विक्रि गर्नु भनेको ओमानको कानून तोड्नु रहेको भन्दै त्यस्ता गलत कृयाकलापका बारेमा मन्त्रालयलाई जानकारी दिन आग्रह गरेका छन् । युएई, कतारमा भिजिट भिषामा गएर अलपत्र पर्ने नेपालीको संख्या ठूलो रहेको अवस्थामा ओमानमा कामदार भिषाको व्यापार सार्वजनिक भएको हो ।
यो पनि पढ्नुहोस्