कतारमा छोरो ९ महिना देखि बेसहारा, रुकुममा आमा बुवाको आँसुको धारा

रवि रोषी, दोहा, साउन २६ 

उसो त सरकारले पनि हेलाँ गरेको जिल्ला अन्तर्गत पर्छन् रुकुम रोल्पा लगायतका पश्चिमा केहि जिल्लाहरु । जमीनमा अन्न उब्जाउ नहुँदा, स्वच्छ पिउने पानीको अभावले दुर्गन्धित पानी पिउने बाध्यताले गर्दा ओखतीमूलो र डाक्टर जान नमान्ने अभागी जिल्ला र नागरिकमा दर्ज छन् ति जिल्लाका करुणादायक पिडाहरु । 

ति अधिकाँश व्यक्तिहरुको आर्थिकोपार्जनको प्रमुख गन्तव्य भनेको पन्जाव, दिल्ली कश्मीर हुन् । जसोतसो अन्न फल्ने कम उब्जाउ बारीमा मौसम अनुसारको अन्नबीउ बारीमा मिल्काएर भारतका विभिन्न स्थानमा भासिनुपर्ने त्यहाँका दरो पाखुरा भएका बासिन्दाको भाग्य, भाषा र नियती बन्न पुगेको छ । केहि बर्ष यता देखि रुकुम रोल्पाका युवा  बैदेशिक रोजगारको सिलसिलामा साउदी, कतार, मलेशिया लगायतका देशमा जाने चल्ती पनि बढ्दै गएको छ । 

यसै क्रममा रुकुम चौखावाङ गाविस वडा नं. ९ का ललित बुढामगर पनि आफ्नो छोरीको अनुहार हेर्न नपाई गर्भमै छोडी कतार हानिएका थिए । २०७० बैशाख २७ को चढ्दै गरेको उखरमाउलो गर्मीमा कतार पसेका ललित बुढामगर घर नगएको पनि साढे दुई बर्ष नाघिसकेको रहेछ । घरमा एक श्रीमति, हुर्किएर अढाई बर्षमा उक्लिदै गरेकी आँगन पिँढीमा टुकुटुकु हिँड्दै गरेकी अवोध छोरी र डाँडा मुनिको जून जस्तै बुढ्यौलीवयमा टेक्दै गरेका बृद्ध बुवाआमा ९ महिना अघि कार्यस्थलमा नै दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेर अचेत भएका ललित बुढामगरको आँखा अहिलेसम्म नखुलेको समाचार सुन्दा उनी प्रति आश्रित परिवारजन शोक र भोकमा डुबिरहेका छन् । 

कतारको एक निर्माण कम्पनीमा स्काफोल्डिङको काम गर्दै आएका बुढामगर कार्यस्थलमा नै भवनको माथिल्लो चोटाबाट खसेको स्काफोल्डिङको फलामको पाईप खसेर टाउकोमा समेत गम्भीर चोट लाग्नुको साथै घाँटीको हड्डी पनि भाँचिन पुगेको छ । कतारको अस्प्तालको सघन उपचार कक्षमा उपचार  पछि शल्यचिकित्सा गर्नुपर्ने भएकोले शल्यक्रिया गर्दा पनि उनमा ९ महिना देखि २० को १९ भएको छैन । 

घाँटीको हड्डीमा पुगेको चोटको ससहयोगका लागि विशेष उपकरण जोडिएपनि उनको टाउको उनी स्वयंले १ इन्च पनि दायाँबायाँ गर्न नसक्ने र पुर्ण अचेत अवस्थामा रहेको छ । टेक्निकल अल्युमुनियम कम्पनीमा कार्यरत बुढामगरको लागि उनी कार्यरत कम्पनीले दुर्घटनापछि दिनुपर्ने जीवन विमाको बारेमा हालसम्म कुनै वास्ता नगरेको पनि उनका सहयोगीहरुले जानकारी गराए । 

कानूनी उपचारको लागि लडिदिने भनेको कतारमा दुतावास नै हो । “हामीले कुरा एकपटक राखिसक्यौं, आश्वाशन आएको छ तर पहलकदमी के हुँदैछ सो बुझ्न पुन दुतावास जाने तयारीमा छौं” नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष शनि कुमार ओलीले बताए । 

“हामीले प्रवासमा निकायसंग यस्तै जटिल अवस्था सिर्जना हुँदा नै आवश्यक महसुस गर्दै निदानको लागि गुहार्न जाने हो र त्यो समस्याको समाधान गर्नु दुतावासको पनि दायित्व हो” ओलीले भने । कमाउन कतार गएको छोरा अस्पतालको शैयामा नै इन्तु न चिन्तु मूढो भएर लडीरहेपछि बृद्ध बुवा आमा र उनकी श्रीमतिको खाने अन्नको जोहोको लागि कतार स्थिती नेपाली जनप्रगतिशील मञ्चले अध्यक्ष शनि कुमार ओलीको नेतृत्वमा कतारबाट १ लाख ६० हजार सहयोग रकम संकलन गरी आश्रित परिवारजनको लागि पठाईएको पनि अध्यक्ष ओलीले बताए । 

यतिबेला बुढामगरको आश्रित परिवारको लागि सहयोगको पाटो एकातिर छ भने अर्कोतिर कार्यस्थलमा नै दुर्घटनामा परेका कम्पनीले उनलाई उपलव्ध गराउनुपर्ने वीमा रकम दिलाउन लागि पर्नुपर्ने अर्को पाटो त्यसै रहेको छ । जीवन वीमाको लागि मुख्य ताकेता दुतावासबाट नै न्यायिक मार्ग हुँदै जानुपर्ने भएकोले दुतावासले यस सम्बन्धमा गम्भीरताका साथ चासो लिँदै उनको वीमा रकम उपलब्ध गराउन पहल गरियोस भन्ने ओलीको माग छ । 

कतारको रुमिल्ला अस्पतालको बेड नं. २६६ मा यदाकदा आँखाको परेली झिमझिम मात्र गर्ने र श्वास प्रश्वाशको धड्कनमात्र चलेको देख्न पाईने ललित बुढामगरले टाउकोमा फलामको पाईप आएर बजारिँदा एकपटक ऐया भने देखि बेलाबेलामा उनको घाँटी मात्र बज्ने आवाज बाहेक अहिलेसम्म कुनै आवाज मुखबाट निकाल्न पनि सकेका छैनन् । यति बेला ललित बुढामगरलाई कानुनी न्याय र उनका आश्रित परिवारलाई आर्थिक सहयोग दुवै चाहिएको छ । 

यो पनि पढ्नुहोस्

‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय