प्रधानमन्त्रीको प्रश्नः दुतावासहरु के गरेर बसेका छन् ? 

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा अलपत्र नेपालीको जतिसक्दो छिटो उद्धारको व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् । परराष्ट्रको समेत जिम्मेवारी बोकेका प्रधानमन्त्रीले त्यसका लागि विदेशस्थित कूटनीतिक नियोगहरूलाई सक्रिय गराउन भनेका हुन् । 

नेपालीले विश्वको कुनै पनि कुनामा दुःख पाउन नहुने उनको भनाइ थियो । परराष्ट्र सचिव शंकरदास बैरागीलाई सोमबार साउदी अरब र श्रीलंकामा अलपत्र परेका नेपालीलाई तत्काल राहत दिँदै नेपाल फर्काउने वातावरण बनाउन उनले निर्देशन दिएका हुन् । ‘नेपाली नागरिक विदेशको कुनै पनि भूमिमा अलपत्र पर्नु अस्वाभाविक हो । नेपालीले कुनै पनि रूपमा कहीं पनि दुःख पाएको मैले सुन्नु नपरोस् । यो समस्या तत्काल सम्बोधन गर्न सक्रियता देखाउनु होला’ उनले भने । 

सञ्चारमाध्यमहरूमा नेपालीहरू विदेशी भूमिमा अलपत्र परेको जानकारीहरू आइरहदा दूतावास के गरेर बसेका छन् भन्दै दाहालले सचिव बैरागीलाई सोधेका थिए । ‘साउदी अरबमा सयौं नेपाली र श्रीलंकामा ४५ महिला अलपत्र परेको समाचार आइरहेको छ । तर, दूतावासले के गरेर बसेको छ रु त्यसको यथार्थ बुझेर तुरुन्तै उनीहरूलाई राहत, रोजगारीको व्यवस्था वा नेपाल फर्काउने कार्य गर्नु होला’ प्रधानमन्त्रीले दिएको निर्देशन उद्धृत गर्दै उनको प्रेस नोटमा उल्लेख छ । 

परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले प्रधानमन्त्रीको निर्देशन आएको र निर्देशन अगावै समस्या समाधानमा काम थालिसकेको जानकारी दिएको बताए । विदेशमा धेरै नेपाली रहेकाले त्यस्तो समस्या समाधान गर्न मन्त्रालय चनाखो बन्नेसमेत उनले बताए । 

ती दुई मुलुकमा मात्र नभएर यस्ता समस्यामा अन्य मुलुकहरूमा पनि रहेको बैरागीले जानकारी गराएका थिए । त्यस्तालाई सम्बन्धित देशको सरकार र दूतावाससँग समन्वय गरी यथाशीघ्र त्यहीं रोजगारीको व्यवस्था र त्यसो नभए सरकारी खर्चमै नेपाल ल्याउने कार्य गर्न निर्देशन दिएका हुन् । ‘नेपाली दूतावासहरू सधैं साधन र स्रोतलाई देखाएर पन्छिने गरेका छन् । यस्तो विषय क्षम्य हुँदैन । तत्काल काम हुनुपर्छ,’ प्रधानमन्त्रीको निर्देशनमा छ, ‘साधन स्रोतको खासै अभाव म देख्दिनँ । महामहिम हुने र पोस्टिङ खाएर कुनामा बस्ने होइन । सबैले उत्तिकै सक्रिय भएर काम गर्न आवश्यक छ । त्यसतर्फ ध्यान दिनुहोला ।’ 

उनले अलि कडा भाषा प्रयोग गर्दै निर्देशन दिएका थिए । ‘दूतावासहरूबाट देखिने खालका काम हुनुपर्छ अन्यथा अप्रिय निर्णय गर्न म बाध्य हुनेछु,’ प्रधानमन्त्रीले भनेको उनी निकट स्रोतले सुनायो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले विश्वका कुनै पनि कुनामा नेपाली नागरिक छन् भने त्यो मुलुक हेर्ने दूतावास चनाखो हुनुपर्ने समेत औंल्याएका थिए ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: