काभ्रे, साउन १८
व्लड मनी तिर्न नसकेर १५ महिनादेखि साउदी अरवको जेलमा रहेका कुशादेवीका रामचन्द्र तिमल्सिना बचाउन अभियान थालिएको छ । सक्रिय महिला संगठन, पनौतिले व्लडमनी जुटाउन अभियान थालेको हो ।
ऋण तिर्न विदेशिएको एक नेपाली बचाउन अभियान थालेका हौं अभियानकी संयोजक सुमित्रा बञ्जाराले भनिन् उनलाई नेपाल फर्काउन रकम जुटाउन लागेका हौं । पनौतिमा ९० हजार ५ सय संकलन गरेर खातामा जम्मा गरिएको छ ।
साउदी अरवको अदालतले फैसला गरेको ३ लाख साउदी रियाल(करिव ९० लाख नेपाली रुपैंयाँ) व्लड मनी तिर्न नसक्दा तिमल्सिना १५ महिनादेखि त्यहाँको सेन्ट्रल जेलमा छन् । तिमल्सिनाले चलाएको ट्रकले २०७२ जेठ १० गते एक पाकिस्तानी चढेको कारलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको थियो । त्यहाँको अदालतले २०१६ अप्रिल २४ मा व्लडमनी तिर्नुपर्ने फैसला सुनाएको छ ।
४ बर्षका छोरा आयुश र ७ बर्षका निराजन, श्रीमति सरिता र आमावावु छोरा आउने बाटो हेरेर बसेका छन् । सम्पत्तिको नाममा भएको केहि पाखोबारी धितो राखेर किनेको बसले फाइदा नभएपछि लागेको ६ लाख ऋण तिर्न उनी विदेशिएका थिए । बैशाख १२ को भूकम्पले घर पनि भत्काएपछि तिमल्सिना परिवार टहरोमा बस्दै आएको छ । सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक, बनेपाको खाता नम्वर १८१०००३८९३१० मा सहयोग रकम जम्मा गर्न सक्ने भन्दै सहयोगका लागि परिवारले अपिल गरेको छ ।
कान्तिपुरबाट
यो पनि पढ्नुहोस्
मलेसिया, कतार, साउदी, युएईका ५७ कम्पनीहरुमा नेपाली कामदार पठाउन प्रतिवन्ध