गोलभेंडाबाट ८० लाख आम्दानी

 तनहुँ- तनहुँको मिर्लुङका कृषकले यो वर्ष गोलभेंडा खेतीबाट ८० लाख रुपैयाँ आम्दानी गर्ने भएका छन् । कृषकले देखाएको सक्रियता र सरकारले दिएको अनुदानका कारण गोलभेंडाबाट कृषकले राम्रो आम्दानी गर्ने भएका हुन् । गत वर्ष यो गाविसका कृषकले गोलभेंडा खेतीबाट ५० लाख रुपैयाँ आम्दानी गरेका थिए । निर्वाहमुखी गोलभेंडा खेती गर्दै आएका कृषक व्यावसायिक खेतीतर्फ आकर्षित भएपछि आम्दानी पनि बढ्दै गएको हो ।

श्री सुनगाभा कृषि सहकारीका अध्यक्ष गणेश भण्डारीले अघिल्लो वर्षको तुलनामा यो वर्ष गेलभेंडा खेतीबाट ३० लाखभन्दा बढी आम्दानी हुने बताए । “गोलभेंडा खेती गर्नेको संख्या प्रत्येक वर्ष बढिरहेको छ,” उनले भने, “५ वर्षअघि एउटा टनेलबाट सुरु गरिएको गोलभेंडा खेती अहिले ४ सय टनेलमा पुगेको छ ।” यहाँका २ सय ५० कृषकले गोलभेंडा खेती गरिरहेका छन् ।

स्थानीय कृषक प्रेमबहादुर अधिकारीले युवादेखि वृद्धवृद्धासम्म गोलभेंडा खेतीमा संलग्न भएको बताए । “८० वर्षका वृद्धवृद्धाले समेत ४ वटासम्म टनेलमा गोलभेंडाको खेती गरेका छन्,” उनले भने, “औसतमा एउटा टनेलमा ५ सय किलोसम्म गोलभेंडा उत्पादन हुन्छ ।” यहाँ उत्पादित गोलभेंडा प्रतिकिलो ३५ देखि ४० रुपैयाँमा बिक्री हुने गरेको छ ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितले गोलभेंडा उत्पादनका लागि मिर्लुङ पकेट क्षेत्र नै भएको बताए । गोलभेंडा खेतीका लागि जिल्ला कृषि विकास कार्यालयले अनुदानसमेत दिने गरेको छ । संघका अध्यक्ष पण्डितले आर्थिक वर्ष ०७२र७३ मा कृषि मन्त्रालयमार्फत नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रले एक गाउँ एक उत्पादन ‘ओभीओपी’ कार्यक्रममार्फत गोलभेंडा कृषकलाई ७ लाख रुपैयाँ अनुदान दिइएको बताए ।

ओभीओपीमार्फत आएको अनुदान गोलभेंडाको व्यवस्थापन तथा बजारीकरणमा उपयोग गरिएको कृषकहरूको भनाइ छ । सोही अनुदानबाट मिर्लुङ, सन्तपुर र सतिश्वरा गाविसलाई समेट्ने गरी गोलभेंडा कलेक्सन सेन्टर निर्माण गरिएको र गोलभेंडा ढुवानीका लागि क्रेटलगायत सामग्रीसमेत खरिद गरिएको श्री सुनगाभा कृषि सहकारीका अध्यक्ष भण्डारीले जानकारी दिए ।अध्यक्ष भण्डारीका अनुसार गाविसमा गोलभेंडा खेतीको विस्तार गर्ने तयारीसमेत भएको छ । उनले आगामी ४ वर्षपछि तनहुँ जिल्लालाई नै गोलभेंडामा आत्मनिर्भर बनाउन प्रयास गर्ने बताए ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय