
रञ्जना लम्साल, नवलपरासी, साउन ७
“श्रीमान् खाडीमा पसिना बगाउँदै श्रीमती अर्कैसँग रमाउदै”, “श्रीमान विदेशबाट फर्किने थाहा पाएपछि सम्पत्ती लिएर बेपत्ता” केहि सञ्चार माध्यममा आउने यस्ता सनसनीपूर्ण समाचारलाई फेसबुक, ट्वीटर जस्ता माध्यमले अझ आगो झैं फैलाउँछन् । र, कुनै विश्वसनिय सञ्चार माध्यममा छापिएका ति समाचारमा मरमसला थपेर असंख्य व्लगपोष्टहरुले कपिपेष्ट गर्छन् । क्षणभरमै त्यो समाचार त्यहि खाडीमा कार्यरत युवाको हातहातमा पुग्छ उसको मोवाईल मार्फत । र, उसको मनमा शंका उव्जाउँछ कतै मेरो पनि यहि हालत हुने त होइन । अर्थात विना कारण शंकाले लंका जलाउन थाल्दछ ।
यसरी लेखिएका समाचारले त्यो समाचार छाप्ने सञ्चार माध्यमको ‘हीट’ बढाउँछ, कुनै विकाउ समाचार बकुल्लाले माछा रुँगे झै रुँगेर बस्ने व्लग पोष्टहरुका लागि केहि सेण्ट वा केहि डलर कमाउने माध्यम बन्छ । तर त्यहि समाचारले खाडीमा पसिना बगाइरहेको व्यक्तिको मनमा ढ्याङ्ग्रो ठोक्छ, शंका बढाउँछ र विनाकारण समस्या सुरु हुन्छ । हो, जानी नजानी यस्ता समाचारहरु पारिवारिक बिखण्डनको एउटा कारण बनिरहेका छन् ।
तर यहि विषयमा केन्द्रीत भएर गरिएको अध्ययनले भनें फरक अवस्था देखाएको छ । सुरक्षित आव्रवासन परिपोजना(सामी) ले नवलपरासीका दुईवटा गाविसमा गरेको अध्ययनले बैदेशिक रोजगारीमा गएका कारण दोस्रो बिहे गर्नेमा महिलाको संख्या प्रचार गरिएजस्तो धेरै छैन । यसैगरी दोश्रो विवाह गर्ने पुरुषको संख्या महिलाको भन्दा धेरै छ ।
नवलपरासीको रजहर र हरपुर गाविसमा गरिएको सर्वेक्षणमा ति गाविसबाट बैदेशिक रोजगारमा जानेको संख्या महिला भन्दा पुरुष बढी रहेको र दोश्रो विवाह गर्नेमा पनि पुरुषनै धेरै रहेको देखिएको हो ।
रजहर गाबिसमा बैदेशिक रोजगारीमा जाने पुरुषको संख्या ९ सय ८७ छ भनें महिलाको संख्या ९२ छ । त्यसमध्ये दोस्रो विवाह गर्नेमा महिला ६ जना रहेका छन् भनें पुरुष १० जना रहेको पाईएको सामीकी जिल्ला परियोजना संयोजक उमाकला शर्माले बताइन् ।
तराईमा पर्ने हरपुर गाविसमा बैदेशिक रोजगारीमा जाने पुरुषको सख्या ५ सय १३ तथा महिलाको संख्या १ रहेको सर्वेक्षणले देखाएको छ । त्यसमध्ये बैदेशिक रोजगारीमा गएकै कारणले दोस्रो विवाह गर्ने महिलाको संख्या ५ रहेको छ भने पुरुषको संख्या ६ रहेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा रजहर गाविसमा घरेलु हिंसाका कारण परिवार बिखण्डन भएको पनि देखिएको छ । बैदेशिक रोजगारमा गएका पतिले मानसिक यातना दिएका कारण ३० जना महिला पारिवारिक विखण्डनको शिकार भएका छन् । जवकी यसमा पुरुषको संख्या ६ रहेको छ । हरपुर गाविसमा पनि तस्वीर यस्तै देखिन्छ । घरेलु हिंसाका कारण ३८ जना महिला पारिवारिक विखण्डनको शिकार भएका छन् भनें पुरुषको संख्या ७ रहेको छ ।
पछिल्ला केहि समययता सञ्चारमाध्यमले बैदेशिक रोजगारीमा श्रीमान हिंडेपछि उनीहरुका श्रीमति सहर पस्ने गरेको भन्दै समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्ने गरेका छन् । तर अध्ययनले यसलाई पनि प्रचार गरिए जस्तो नभएको देखाएको छ । रजहर गाविसमा श्रीमान वैदेशिक रोजगारमा गएपछि गाउँ छोडी सदरमुकाममा वस्न थालेका महिलाको संख्या ७९ रहेको छ भनें हरपुरमा यो संख्या १४ रहेको छ ।
यो तथ्याँकले बैदेशिक रोजगारका कारण अर्कै विवाह गर्ने गरेको भनेर गरिएको प्रचार अनुरुपको अवस्था नभएको देखाएको शर्मा बताउँछिन् । उनले यस्ता समाचारले समग्रमा बैदेशिक रोजगारमा गएका महिलाप्रति हेर्ने दृष्टिकोण नै खराव हुँदै गएको भन्दै संवेदनशिल हुन आग्रह गरिन् ।
यो पनि पढ्नुहोस्
३० प्रतिशत रेमिट्यान्स पठाएको हिस्सा खोज्नुस्स् दाहाल