
काठमाडौं, साउन ५
प्रधानमन्त्री केपी शर्मा ओलीले हाल ४० लाख भन्दा बढी नेपाली युवा विदेशमा कार्यरत रहेको भन्दै यो मुलुकको विकासका लागि सकारात्मक कुरा नभएको बताएका छन् । उनले स्वदेश बनाउनु पर्ने युवा शक्ति रोजगारीको अभावमा विदेशिनु परिरहेको भन्दै यसलाई क्रमशः निरुत्साहित गर्नुपर्ने बताए ।
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को छैठौं महाधिवेशन प्रतिनिधि परिषद बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले युवा शक्ति स्वदेशमा आवश्यक रहेको बताए । उनले त्यसलाई एकैपटक नाटकको पर्दा लगाए झैं गरी रोक्न नसकिने भन्दै त्यसका लागि स्वदेशमा नै रोजगारीका अवशरहरु सिर्जना गरिने बताए ।
उनले स्वदेशमा रोजगारीका अवशर सिर्जना गर्न सकिएमा ठूलो जनशक्तिले स्वदेशमा नै रोजगारी पाउने र बाँकी रहेकाहरु मात्र विदेश जाने स्थीति ल्याउन सकिएमा त्यो मुलुकमा लागि सकारात्मक हुने बताए । देशमा बर्षमा साढे चार लाख श्रम गर्न तयारु जनशक्ति बजारमा प्रवेश गर्ने भन्दै त्यसमध्ये बहुसंख्य विदेशिनु कुनै अर्थमा राम्रो नभएको प्रधानमन्त्री ओलीको भनाई थियो । त्यसले केहि रेमिट्यान्स त भित्रिएला तर त्यसले मुलुकको दिगो विकास हुँदैन प्रधानमन्त्री ओलीले भने । उनले यहि तथ्यलाई मनन गरेर सरकारले सोही अनुसारका कार्यक्रमहरु अगाडी सारेको बताए ।
उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले बैदेशिक रोजगारका क्रममा सिकेका सीप स्वदेशमा पनि काम लाग्ने भन्दै त्यसलाई प्रमाणित गरेर उपलव्धीमूलक काममा लगाउने योजना सरकारले अगाडी सारेको बताए । उनले यसले स्वदेशमा रोजगारीमा लाग्न चाहने वा पुनः बैदेशिक रोजगारमा नै जान चाहने दुवैलाई फाइदा पुग्ने धारणा राखे । व्लू ड्रेस(खाडीका देशमा निलो लुगा लगाएर कठिन शारिरीक श्रम गर्नुपर्ने श्रमिक) होइन हामी ह्वाईट ड्रेस(कार्यालयको काम गर्ने) जनशक्ति मात्र विदेश पठाउने स्थीतिमा पुग्न जरुरी छ प्रधानमन्त्री ओलीले भने ।
सो अवशरमा बोल्दै जिफन्टका समेत अध्यक्ष रहेका प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले बैदेशिक रोजगारीको सीप प्रमाणिकरण सरकारको कार्यक्रममा परेको बताए । उनले यसले बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई मद्धत मिल्ने धारणा राखे । साथै त्यसरी फर्केकाहरुलाई आर्थिक रुपमा पनि सहयोग गर्नेगरी सरकारले कार्यक्रम ल्याएको पनि रिमालले बताए ।
बैठकमा बोल्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटीयूसीसी) का अध्यक्ष खिलानाथ दाहालले रोजगारीका लागि विदेशिनु पर्ने बाध्यताको अन्त्य हुनुपर्ने धारणा राखे । उनले त्यसका लागि राजनीतिक दलहरुले सम्वादको माध्यमबाट राजनीतिक संक्रमणकाल अन्त्य गरी आर्थिक विकासको बाटो पहिल्याउन सुझाव दिए ।
यो पनि पढ्नुहोस्
परदेशको अस्पतालमा १७ महिनादेखि अचेत