
लक्ष्मण खनाल, युएई
नेपालमा गएको विनाशकारी भुकम्प पछि पुनर्निर्माण अभियानमा अगाडी बढेका धुर्मुस सुन्तलीलाई न्यानो स्पर्शले साथ दिएको छ ।
सधै सबैका लागि भन्ने मुल नारा लिएर सामाजिक सञ्जाल मार्फत बनेको समुह न्यानो स्पर्शले धुर्मुस सुन्तली फाउन्डेसनले अगाडी बढाइरहेको पुनर्निर्माण अभियानमा सिन्धुपाल्चोकको गिरानचौर पुगेर स्वास्थ्य शिविर तथा श्रमदान गरेको छ । २ जना डक्टर, ४ जना नर्स र २ जना अन्य स्वास्थ्यकर्मीको साथ स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
सो शिविरमा ३ सय भन्दा बढी कामदार तथा गाउँलेहरुलाई स्वास्थ्य जाँच, भ्याक्सिन तथा विभिन्न औषधिहरु पनि वितरण गरिएको न्यानो स्पर्शकी सदस्य गीता क्षेत्रीले बताइन् ।
त्यसै गरी सोही समुहले संगिता भट्टराईको नेतृत्वमा ३५ जना गिरानचौर पुगेर श्रमदान पनि गरेका थिए । सामाजिक काम गर्न कुनै साइत जुराउनु पर्दैन र आवश्यक छैन, आजै हामीबाट शुरुवात गर्ने हो भन्दै सिताराम कट्टेल (धुर्मुस) ले न्यानो स्पर्श टोलीलाई गिरानचौरमा स्वागत गरेका थिए ।
सामाजिक सञ्जाल मार्फत बनेको न्यानो स्पर्श समुहले यस्तै सामाजिक कार्यलाई निरन्तर अगाडी बढाउने र यो समुह संस्थागत रुपमा अगाडी बढ्नको लागि नेपालमा संस्था दर्ता प्रक्रियामा रहेको समुहकी सदस्य सम्झना थापा पौडेलले युएईबाट जानकारी दिइन । सो संस्थामा हालसम्म ४ सय ७० जना सदस्य छन् ।
यो पनि पढ्नुहोस्
परदेशको अस्पतालमा १७ महिनादेखि अचेत