आलु, अदुवा र अकवरेमा ठूलो कमाई  

ईलाम- इलाममा मुख्य १० वटा कृषिजन्य बस्तुको आम्दानीमा यो वर्ष ११ प्रतिशतले बढेको छ । जिल्ला कृषि विकास कार्यालयले यो वर्ष इलामका मुख्य १० खेतीबाट सात अर्ब ५२ हजार १६ लाख रुपैयाँ जिल्ला भित्रिएको जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष  मा छ अर्ब ७२ करोडको कृषिजन्य उत्पादन निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रकाशमणि काफ्लेले जानकारी दिए । ब्यावसायिक रुपमा खेती गर्नेको सख्या बढेकाले कृषिजन्य उत्पादनको आम्दानी बढेको कार्यालयले जनाएको छ । 

जिल्लामा सबैभन्दा बढी आलुबाट आम्दानी भएको छ । आलुबाट दुई अर्ब २७ करोड ९० लाख  रुपियाँ आम्दानी भएको छ । इलाममा ९४ हजार नौ सय ५९ मेट्रिक टन आलु उत्पादन भएको थियो । त्यसमध्ये ७५ हजार नौ सय ६८ मेट्रिक टन आलु जिल्ला बाहिर निर्यात गरेर सो आम्दानी भएको हो । कुल १८ हजार नौ सय ९१ मेट्रिक टन आलु जिल्लामा नै खपत भएको बरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताए । आलु प्रतिकिलो ६० रुपियाँका दरले किनबेच भइरहेको भए पनि ३० रुपैयाँ प्रतिकिलोका दरले सदरद आम्दानी गुणन गरिएको छ । 

आलुपछि सबैभन्दा बढी आम्दानी भित्र्याउने कृषिजन्य उपजमा नगदेबाली अदुवा परेको छ । इलामको प्रायः सबै गाविसमा फलाइने अदुवाबाट दुई अर्ब २० करोड ७७ लाख रुपैयाँ रकम आम्दानी भएको छ । जिल्लामा ४५ हजार नौ सय मेट्रिक टन अदुवा उत्पादन भएको छ । त्यसमध्ये ३६ हजार सात सय ९५ मेट्रिक टन अदुवा निर्यात भएको जनाइएको छ । 

बाँकी अदुवा बीऊ र घरायसी खपत गरिन्छ । इलाममा पाँच सय ५८ मेट्रिक टन अलैंची उत्पादन हुन्छ । उत्पादन भएको सबै अलैंची विक्री हुन्छ । अलैंची विक्रीबाट एक अर्ब पाँच करोड ५५ लाख रुपियाँ इलामले आम्दानी गर्छ । 

त्यस्तै विभिन्न तरकारीजन्य बस्तुको विक्रीबाट पनि एक अर्ब ४२ करोड ५३ लाख ४३ हजार रुपैयाँ रकम इलाम भित्रिन्छ । यहाँ ४५ हजार दुई सय ४९ मेट्रिक टन तरकारी उत्पादन हुन्छ । त्यसमध्ये ४० हजार सात सय २४ मेट्रिक टन तरकारी निर्यात हुन्छ । रायो, काँक्रा, इस्कुस, बन्दाकोपी, मुलालगायतका उत्पादित तरकारी बोकेर सरदर सय भन्दा बढी पिकअप गाडी झापाका बजारहरूमा पुग्छन् । तरकारी उत्पादनमा अग्रणी रहेको इलामले यसबाट पनि ठूलो आम्दानी जिल्ला भित्र्याउने गरेको छ । 

फलफूलमध्ये सबैभन्दा बढी कमाई सुन्तलाले गर्छ । तीन हजार पाँच सय २३ मेट्रिक टन सुन्तला उत्पादन हुने इलामबाट दुई हजार छ सय ४१ मेट्रिक टन सुन्तला जिल्ला बाहिर पुग्छ । ५० देखि ८० रुपैयाँ प्रतिकिलोका दरले किनबेच हुने सुन्तलाबाट १४ करोड ५२ लाख ८२ हजार रुपैयाँ आम्दानी हुने गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

सुन्तलापछिको बढी आम्दानी गर्नेमा अकबरे खुर्सानी पर्छ । अकबरेको जिल्ला भनिने इलामबाट १३ करोड ७५ लाख रुपैयाँको अकबरे निर्यात हुने गरेको छ । ६१० मेट्रिक टन अकबरे उत्पादन हुने गरेकोमा ५५० मेट्रिक टन अकबरे निर्यात हुने गरेको छ । अकबरे खुर्सानी सरदर २५० रुपैयाँ प्रतिकिलोका दरले विक्री हुन्छ । 

पाँच÷सात बर्ष अघिबाट खेती गर्न थालिएको किवीको आम्दानी पनि मुख्य १० बालीमा पर्न थालेको छ । १३५ मेट्रिक टन किवी उत्पादन हुने इलामबाट १२७ मेट्रिक टन किवी निर्यात हुन्छ । किवी फलको विक्रीबाट तीन करोड १६ लाख ४० हजार रुपैयाँको किवी निर्यात हुन्छ । त्यस्तै यसको विरुवाको विक्रीबाट ६२ लाख ५० हजार रुपैयाँ आम्दानी हुने गरेको कार्यालयले जनाएको छ । 

यता अलैंचीको विरुवा विक्रीबाट एक करोड ८० लाख रुपैयाँ आम्दानी हुन्छ । इलामबाट ३० लाख अलैंचीको विरुवा किनबेच हुन्छ । मौरीको मह विक्रीबाट यहाँका किसानले एक करोड ५३ लाख ८८ हजार रुपैयाँ रकम कमाउँछन् । जिल्लामा २४ दशमलव २५ मेट्रिक टन मह उत्पादन हुन्छ । त्यसमध्ये १९ मेट्रिक टन मह विक्री हुने गरेको बरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताए । 

गोरखापत्रबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय