काठमाडौं- बुबा विदेशमा रहेका बेला गत फागुनमा आमाले अर्कैसँग विवाह गरेपछि भैंसेपाटीका विकल रानामगर (नाम परिवर्तन) ले यसपालि स्कुलको वार्षिक परीक्षा दिएनन् । १ कक्षामा पढदै गरेका ८ वर्षीय विकल अब स्कुल जान मान्दैनन् । ‘स्कुलमा साथीहरूले त सोध्छन् नै, सरहरूले पनि तिम्रो ममी कहाँ गई भनेर सोध्दो रैछ । अनि परीक्षा दिन पनि स्कुल गएन,’ उनका पिताले सुनाए ।
महानगरीय प्रहरी बृत्त बानेश्वरमा प्रहरीले आमा–बाबु दुवैलाई समस्या सुल्झाउन बोलाएका बखत कान्छा ३ वर्षीय छोरा घरिघरि आमाको काखमा जान खोज्थे । पहिलेजस्तो बोल्न पनि छोडेका विकल र उनका भाइलाई अहिले हेर्दै आएकी उनकी काकी भन्छिन्, ‘जेठालाई त साह्रै असर परेको छ, कान्छो पनि आमालाई खोजिरहन्छ । आमाको काखमा जान खोज्छ ।’
दुवै छोरालाई भाइबुहारीका भरमा छाडेर उनका पिता फेरि विदेश जाने सोच्दै छन् । आमाले आफ्नो बाटो रोज्ने र बाबु विदेश जाने हुँदा दुई छोरामाथि परेको मानसिक असरबारे कसैले ध्यान दिएका छैनन् ।
यस्तै घटना भयो सर्लाहीका ५ वर्षीय सचिन महतो (नाम परिवर्तित) र उनकी ३ वर्षीया बहिनीसँग पनि । बाबु वैदेशिक रोजगारीमै रहेका बेला आमा अर्कैसँग गइन् । बाबु विदेशबाट फर्किएपछि आफ्नै सालीसँग विवाह गरे ।
पति विदेश गएको समयमा नेपालमा पत्नीले अर्को विवाह गरी जाने वा पुरुषले नै विदेशमा वा विदेशबाट आएपछि अर्को विवाह गर्ने घटना हाम्रो समाजमा धेरै छन् । जीवन सुधार्ने र सजाउने ध्याउन्नमा आमाबाबु दुवैले छोराछोरीमाथि परेको मानसिक असरबारे कमै मात्र सोचेको देखिन्छ ।
आमा–बाबुबीच सम्बन्ध ठीक नहुँदा र बेवास्ता गर्दा बालबालिका ‘सडक बालबालिका’ भएको धेरै उदाहरण रहेको चाइल्ड वर्कर्स इन नेपाल (सिविन) का कार्यक्रम प्रबन्धक मधु दवाडीले बताए । ‘युनिसेफको एक अध्ययनअनुसार काठमाडौंमा मात्र सन् २०१३ मा ५ हजार बालबालिका सडकमा थिए,’ उनले थपे, ‘यसरी घर छाडेर सडकमा आएकामध्ये २० प्रतिशत आमाबाबुले बेवास्ता गर्दा, झगडा गर्दा र उनीहरूमाथि हिंसा गर्नु प्रमुख कारण थियो ।’ नेपालमा बालबालिकाले घर छाड्ने विभिन्न कारणमध्ये आमाबाबुबीचको खराब सम्बन्ध सातौं स्थानमा रहेको उनी बताउँछन् ।
आमासँग प्रत्येक बालबालिकाको विशेष सम्बन्ध हुन्छ तर कलिलै उमेरमा आमाबाट अचानक छुटिनु पर्दा उनीहरूमाथि मानसिक असर पर्छ । कतिपय अवस्थामा सबै महिलाहरूप्रति उनीहरूले नकारात्मक धारणा बनाउने पनि हुन्छ । मनोविद् करुणा कुँवरको बुझाइमा बालबालिकाको शिक्षामा पनि खराब असर पर्छ ।
आमाले छाडेर जाँदा कतिपय बालबालिकाले विद्यालय जान आनाकानी गर्ने, विद्यालयबाटै भाग्ने तथा असामाजिक व्यवहार प्रदर्शन गर्ने हुन सक्छन् । बाबुभन्दा पनि आमाले अर्को विवाह गर्दा विद्यालय, समाजको व्यवहारले पनि बालबालिकाहरूलाई दुःखी बनाउने गर्छ । आमा वा बाबुमध्ये कोही पनि विदेशमा लामो समय बस्दा बालबालिकाले उनीहरूसँगको समीप्यता र माया पाउन सक्दैनन् । यस्तोमा बालबालिकाले अभिभावकको कमी महसुस गर्ने मनोविदहरू बताउँछन् । बालबालिकालाई हुर्कन राम्रो वातावरण बनाउन आमाबाबु दुवै आवश्यक हुने मनोविद्हरूको तर्क छ ।
‘विदेशमा रहेका बेला एक्ली पत्नीलाई पुरुषहरूले शंकाको दृष्टिले हेर्ने भएकाले पनि सम्बन्धहरू टुट्छन् र यसले उनीहरूको सन्ततिमाथि असर पार्छ,’ एसपी प्रद्युम्न कार्कीले भने । यस्ता बालबालिका कहिलेकाहीं कुलतमा फस्ने र आपराधिक क्रियाकलापमा संलग्न पनि हुन सक्ने कार्कीको भनाइ छ ।
केही ठाउँको सामाजिक र पारिवारिक परिवेशमा चिसोपन ल्याए पनि वैदेशिक रोजगारीमा जाने सबैको परिवारमा यस्तो घटना नभएको समाजशास्त्री कमल अधिकारी बताउँछन् । परिवारको आर्थिकस्तर उकासे पनि वैदेशिक रोजगारीले धेरै घर परिवार तोडेको उदाहरण पनि वर्तमान नेपाली समाजमा प्रशस्तै देख्न पाइन्छ ।
यो समाचार कान्तिपुरमा शिल्पा कर्णले लेखेकी हुन्
यो पनि पढ्नुहोस्
बुझेर मात्र बीमा गर्नुस्, फस्नु होला है