रञ्जना लम्साल, नवलपरासी
बैदेशिक रोजगारमा जाने हरेक नेपालीले अनिवार्य रुपमा विमा गर्नुपर्छ । किन ? बैदेशिक रोजगारका क्रममा मृत्यु भएमा वा अंगभंग भएमा क्षतिपूर्ति पाउन र त्यहि रकमले अप्ठ्यारो परेको अवस्थामा भरथेग गर्छ भनेर । तर तपाई बैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ र बीमा गराउँदै हुनुहुन्छ भनें होस् गर्नुस् तपाई कतै भोली अप्ठ्यारो पर्दा रकम नै नतिर्ने बीमा कम्पनीमा पो फस्दै हुनुहुन्छ की ? देशमा थुप्रै व्यक्ति त्यसरी नै फसेका छन् जसले बीमा त गरेर गए तर अहिले क्षतिपूर्ति पाउने बेलामा विभिन्न बहानामा रकम दिईंदै छैन ।
बैदेशिक रोजगारीका क्रममा शारिरीक चोटपटक लागेर शरिरका अंगले काम नगर्ने भएर मात्र होइन प्यारालाइसिस भएर फर्किंदा समेत बीमा कम्पनीले बीमा पोलिसीले नसमेट्ने भन्दै वीमा भुक्तानी नपाएका नवलपरासीमा थुप्रै घटना छन् । सुरक्षित बैदेशिक रोजगार सम्वन्धि सुचना तथा परामर्श सेवा उपलव्ध गराउँदै आएको सुचना केन्द्रमा त्यस्ता निवेदनहरु दर्ता भएको केन्द्रले जनाएको छ ।
घटना १
राधिका नेपाली । घरमा श्रीमानको मृत्यु पश्चात छोराछोरीको शिक्षादिक्षा र लालन पोषणका लागि कुबेत गएकी हुन् । नेपालबाट जाँदा उनले प्राईम लाईफ ईन्सुरेन्सबाट बिमा पनि गरिन । तर घरमा साहुले पैसा नदिने कुट्ने पिट्ने गर्न थालेपछि उनी घर फिर्ता हुने अन्य बाटो नदेखे पछि झ्यालबाट हामफालिन । उनको हात भाचियो । हातमा रड र चोट हँुदाकै बखतमा उनी नेपाली दुतावासको सहयोगमा नेपाल फर्किइन् । तर उनले गरेको बिमाबाट उनले केहि सहयोग पाउन सकिनन् ।
घटना २
मलेशियामा सेक्युरिटी गार्डको काम गर्न गएका नवलपरासीका खेमबहादुर घर्ती काम गरेर तरकारी किन्न बजार जाँदा सडकमा दुर्घटनामा परे । दुर्घटनामा परेर उनको सास त बाँकी रह्यो तर शरिरको कुनै भाग नचल्ने भएका उनी मुढो लडे झैं लडिरहेका छन् । उनले पनि जानु भन्दा अगाडी प्राईम लाइफ ईन्स्योरेन्स कम्पनीबाट नै बिमा गरेर गएका थिए । बिमा गरेर गए पछि बिमाको रकम पाईन्छ भन्नेमा परिवार ढुक्क थियो । बिमा कम्पनीले १ बर्ष पछि ५ लाख बराबरको बिमाको रकम दिने आश्वाशन पनि दिएको थियो । उपचारमा ७ लाख भन्दा बढि रकम खर्च भइसकेको छ । तर अन्तिममा उनको समस्या बिमा पोलिसी भित्र नपर्ने भन्दै बीमा कम्पनि उम्किन खोज्दैछ । यसले निम्न आर्थिक अवस्थाको घर्ती परिवार समस्यामा परेको छ ।
घटना ३
लीलामणि महतो रोजगारीका लागि मलेशिया गएका थिए । नवलपरासी नारायणी गाविशका महतोको काम गर्ने क्रममा हातमा चोट लाग्गो । हातको घाउ त निको भयो तर उनको हातले कुनै पनि काम गर्न सक्दैन । औंला चल्दैनन् र कुनै बस्तु समात्न सक्दैन । तर उनलाई पनि बिमा गरेको कम्पनी प्राईम लाईफले उनको सो समस्या बिमाको पोलिसी भित्र नपर्ने भन्दै भुक्तानी दिन ईन्कार गरिरहेको छ ।
यी प्रतिनिधि घटना हुन् जसमा समस्यामा परेकाहरुले क्षतिपूर्ति रकम पाएका छैनन् । अन्य बीमा कम्पनीहरुमा समस्या नहुने तर किन प्राइम लाइफमा मात्र यस्ता विविध बहाना देखिएर बीमा दावी भुक्तानी नदिइएको हो आफूले बुझ्न नसकेको महतो बताउँछन् । उनी सहयोगका लागि धेरै दौडधुप गर्दा पनि आफूले रकम नपाएको भन्दै निराश छन् ।
यस बारेमा प्राइम लाइफ इन्स्योरेन्स भनें बोल्न चाहँदैन । यस विषयमा कुराकानी गर्न देशपरदेशले धेरैपटक प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा सम्पर्क गरेपनि यस विषयमा बोल्ने आधिकारिक व्यक्ति सम्पर्कमा आउन चाहेनन् । सो कम्पनीमा कार्यरत कर्मचारीले भनें यी दावीहरु पोलिसी भित्र नपर्ने भन्दै कुनै हालतमा दावी भुक्तानी गर्न नमिल्ने बताए । “हाम्रो कसैसँग रिसईवी पनि छैन र उनीहरुलाई दुईचार लाख दिएर कम्पनी डुव्ने पनि होइन” नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने “तर सरकारले २०६५ मा बनाएको पोलिसी अनुसार नै हामीले बीमा गरेका हौं र त्यो पोलिसीले मृत्यु भएका वा अंग काटिएका व्यक्ति बाहेकलाई बीमा भुक्तानी गर्न मिल्दैन ।” उनले पोलिसीले समेटेका व्यक्तिको हकमा बीमा भुक्तानीमा कसैलाई थोरै पनि दुःख नदिइएको भन्दै यसका बारेमा सम्वन्धित व्यक्तिहरुलाई पनि पटक पटक जानकारी दिइएको बताए ।
तपाई बैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ ? अनी विमा कुन कम्पनीबाट गराउँदै हुनुहुन्छ ? होस् गर्नुस् कतै बीमा शुल्क लिन घरमै आउन पनि तत्पर हुने तर बीमा दावी भुक्तानीमा अनेक बहाना गर्ने कम्पनीको फन्दामा पर्नुहोला है ।
यो पनि पढ्नुहोस्
थामिंदैन आमाको आँशु हराएको छोरो सम्झेर