
सोल -दक्षिण कोरियामा कार्यरत मजदुरहरुको तलब वृद्धि हुने नहुने बारे अन्योल कायम नै रहेको छ । सन् २०१७ का लागि तलब तोक्न बसेको ज्वाला निर्धारण समितिको बैठक लगातार निष्कर्षविहीन भएपछि तलब वृद्धिबारे अन्योल भएको हो ।
समितिको कार्यालय सेजोङ सीमा ११ औं बैठक सोमबार दिउँसो ३ बजेदेखि राति साढे ११ बजेसम्म बसे पनि निष्कर्षविहीन टुंगिएको थियो । प्रतिनीधि, रोजगारदाता र सरकारी प्रतिनीधि संलग्न पूर्ण बैठकमा मजदुर र रोजगारदाता प्रतिनीधिहरुले आ–आफ्नै अडान दोहोर्याएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
मजदुर प्रतिनीधिहरुले महंगीका कारण दैनिक जीवनयापन गर्न कठिन रहेको भन्दै प्रतिघन्टा १० हजार वन हुनुपर्ने माग राखेका छन् भने रोजगारदाता प्रतिनीधिले आर्थिक मन्दीका कारण हालको ज्याला प्रतिघन्टा ६ हजार ३० वनमा घटाउनु पर्ने प्रस्ताव अघि सार्दै आएका छन् ।
यस अघिको बैठकमा रोजगारदाता प्रतिनीधिहरुले कम्पनीको अवस्था र अनुकुल अनुसार कामदारको तलब निर्धारण गर्न पाउनुपर्ने राखेको प्रस्तावलाई बहुमतले अस्विकार गरेको थियो । कोरियामा मजदुरको ज्याला निर्धारण गर्न ढिलाई भएको यो पहिलो पटक हो । सामान्य अवस्थामा जुन अन्तिममा नै निर्णय भइसक्नुपर्ने प्रावधान रहेको छ ।
समितिमा प्रतिनीधि,रोजगारदाता र सरकारी प्रतिनीधि ९–९ जना रहने व्यवस्था छ । कुनै विषयमा निर्णय लिनुपरे मतदान गर्ने प्रकृया रहेको छ । अर्को बैठक आज ३ बजेदेखि पुनस् बस्ने जनाइएको छ ।
मजदुर संगठनहरुले आफ्नो माग पुरा नभएसम्म सेजोङ सी श्रम तथा रोजगार मन्त्रालय को अगाडी निरन्तर अन्तरक्रिया गर्ने जनाएका छन् । उनीहरुले पत्रकार सम्मेलन र दवाव मुलक कार्यक्रम गर्ने बताएका छन् ।
कान्तिपुरबाट