आक्रमणको निशानामा नेपाली, सुरक्षा माग्दा १०६ जनालाई जवर्जस्ती स्वदेश फिर्ता 

काठमाडौं असार २३ 

१३ जना नेपालीको ज्यान जानेगरी गराइएको आत्मघाती आक्रमणमा पश्चात बेलायती दुुतावासको सुरक्षामा खटिएका नेपालीले आफ्नो सुरक्षाको व्यवस्था मिलाउन आग्रह गर्दा उनीहरु जवर्जस्ती स्वदेश फर्काएका छन् । बेलायती दुतावासको सुरक्षामा खटिएका ३ सय ८५ मध्ये १ सय ६ जनालाई आफूहरुलाई सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेकै कारण फिर्ता पठाएको दावी गरेका हुन् । 

“असार ६ गते भएको आक्रमणमा नेपाली सुरक्षागार्डहरुले ज्यान गुमाएपछि हामीले दुतावासको सुरक्षाको कामका लागि दैनिक रुपमा २० किलोमिटर भन्दा लामो बाटो सामान्य माइक्रोबसमा गर्न नसक्ने भन्दै काम गर्ने ठाउँमा नै बसोवासको व्यवस्था मिलाउन आग्रह गर्दा हामीलाई जवर्जस्ती स्वदेश फर्काइको हो” असार १२ गते फर्काइएका मध्ये एक सत्यराज सापकोटाले भनें । त्यसरी फर्काइएकाहरु मध्ये २३ जनाले बैदेशिक रोजगार विभागमा आफूहरुलार्ई अन्याय भएको भन्दै क्षतिपूर्ति सहित पाउन बाँकी रकम दिलाइदिन निवेदन दिएका छन् । विभागले सुरुमा तत्कालै यसमा कदम चाल्ने आश्वासन दिएपनि पछि त्यो प्रतिवद्धता अनुरुप काम नभएको उनीहरुको गुनासो छ । 

दुतावासमा सुरक्षा गार्ड उपलव्ध गराउने कम्पनी जीफोरएस सेक्युअर सोलुसन(अफगानिस्तान) ले आफूहरुको मागको वेवास्ता गर्दै सुरक्षाका लागि बोल्नेहरुलाई छानि छानि स्वदेश फिर्ता गरेको अर्का पीडित भक्तनारायण श्रेष्ठले बताए । उनका अनुसार सो कम्पनीबाट माथिल्लो तहमा रहेर काम गर्ने चारजना सुपरभाइजरहरुका कारण मुख्य समस्या भएको हो । 

फर्काइएकाहरुले नामै तोकेर ति चारजना नेपालीलाई कारवाही गर्न पनि माग गरेका छन् । उनीहरुले दिएको निवेदनमा श्रीराम पंडित क्षेत्री (लमजुङ), डोलबहादुर खत्री (बुटवल), हटमान राई (धरान) र टंकबहादुर तामाङ (ईटहरी) का कारण १ सय ६ जना नेपालीले रोजगारी गुमाउनु परेको उल्लेख गरेका छन् । 

जवर्जस्ती स्वदेश फर्काइएकाहरुले आफूहरुलाई विना पूर्व सुचना जागिरबाट निकाली स्वदेश फर्काइएका कारण आफूहरुले पाउन बाँकी रहेको तलव, ओभरटाइम बापतको रकम, छुट्टीको रकम, बार्षिक पाउनुपर्ने बोनस, यातायात खर्च, भत्ता लगायतका उपलब्ध हुन बाँकी सम्पुर्ण रकम उपलब्ध गराईदिन माग गरेका छन् । 

यसैगरी आफूहरुसँग सम्झौता गर्दा एक वर्षको लागि सम्झौता गरिएकोमा विना सुचना जवर्जस्ती स्वदेश फर्काइएका कारण सम्झौता अनुसारको पुरा एक वर्षको तलव तथा सेवा सुविधा उपलब्ध गराउन पनि उनीहरुको माग छ । उनीहरुले आफूहरुको तलवमा कमिसन खाने अफगानिस्तान पठाउने एक्सकम ईन्टरनेशनल मेनपावर कम्पनी तथा आफगानिस्तानमा सो कम्पनीमा उच्च तहमा काम गर्ने सुरक्षा अधिकृतहरुलाई कारवाही गर्न पनि उनीहरुको माग छ । 

बेलायती दुतावासमा कार्यरत नेपाली सुरक्षाकर्मीहरुमाथी अन्याय भएको हुँदा सम्वन्धित देश र दुतावाससँग समेत कुटनीतिक पहल गरी नेपाली कामदारको सुरक्षाको प्रवन्ध तथा उनीहरुलाई न्याय प्रदान गर्नका लागि सम्वन्धित निकायमार्फत उनीहरुले ध्यानाकर्षण गराएका छन् । 

नेपालीको तलव घटाउने नेपाली नै 

पीडितहरुका अनुसार सो कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्ने नेपालीहरुको तलव सन् २००७ सम्म प्रतिमहिना १ हजार ३ सय ५० अमेरिकी डलर(नेपाली झण्डै १ लाख ४० हजार) थियो । तर केही माथिल्लो तहमा कार्यरत नेपाली सुरक्षा अधिकृतहरुको गलत नियत, नेपाली सुरक्षा गार्ड पठाउने नेपाल स्थीत म्यानपावर कम्पनीको कमीशन सम्वन्धी गलत सम्झौताका कारण तलव घटेको उनीहरुको भनार्ई छ । ७ सय डलर तलव नेपालका प्रधानमन्त्रीको भन्दा बढी हुने भन्दै नेपाली उच्च तहमा कार्यरत सुरक्षा अधिकृतकै सिफारिसमा घटाइएको उनीहरुको भनाई छ । पछि पुनः कामदारहरुले माग राखी दवाव दिएपश्चात हाल सुरक्षा गार्डहरुको तलव प्रतिमहिना ८ सय ५० अमेरिकन डलर रहेको उनीहरुले बताए । 

विदेशी मानवअधिकारकर्मीहरु तथा पत्रकारहरु आउँदा भनें आफूहरुलाई तलव सुविधाका बारेमा कुनै जानकारी नहुने र यसका बारेमा कम्पनीको मान संशाधन विभागमा सम्पर्क गर्न निर्देशन दिने गरिएको उनीहरुको भनाई छ । उच्च जोखिम भएको क्षेत्रमा काम गर्दा समेत आधारभुत सुरक्षा, सुचना र तलव सुविधा लगायतका बिषयहरुमा आफ्ना माग राख्दा नेपाली अधिकृतहरुले नै वेवास्ता गरेका कारण आफूहरु अन्यायमा परेको पीडितको गुनासो छ । 

उनीहरुले आफूहरुको भाषाकोे समस्याका कारण पनि माथिल्लो तहका नेपाली सुरक्षा अधिकृतहरुले गलत रुपमा आफ्ना भनाईहरु कम्पनीका विदेशी अधिकृतसम्म पुर्याइदिने गरेको  गुनासो गरे । “हामी आंग्रेजीमा राम्रोसँग आफ्ना कुरा भन्न जान्दैनथ्यौं तर कसरी हाम्रा कुरालाई उल्था गरियो भन्ने बुझ्थ्यौं जुन गलत हुन्थ्यो” सापकोटाले भनें । 

निशानामा नेपाली 

अफगानिस्तानमा पछिल्लो समयमा नेपाली सुरक्षा गार्डलाई मुख्य निशाना बनाइएको त्यहाँबाट फर्केर आएका नेपालीले बताएका छन् । उनीहरुका अनुसार तालिवानले सुरुमा नेपालीलाई आक्रमण गरेर भगाउने र उनीहरु भागेमा बाँकी अन्य देशका पनि भाग्ने भन्दै नेपालीलाई नै आक्रमणको तारो बनाएको बताए । 

हामीलाई स्थानीय व्यक्तिहरु तथा सुरक्षाकर्र्मीहरुले पनि नेपालीलाई तालिवानले मुख्य निशाना बनाएको कुरा गर्थे आफगानिस्तानबाट फर्केर आएका श्रेष्ठले भने त्यसैले हाम्रो ज्यानको सुरक्षाका लागि कि त बुलेटप्रुफ गाडी कि त काम गर्ने स्थलमा नै बसोवासको माग हामीले गरेका थियौं । तर त्यति धेरै निशाना बनाइएको भएपनि यसमा स्वयं उच्च पदस्थ नेपाली सुरक्षा अधिकृतहरु नै संवेदनशिल नभएको उनको भनाई थियो । 

यो पनि पढ्नुहोस् 

श्रीमान् साउदीमा र श्रीमति नेपालमा कमाउँदै

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय