बैदेशिक रोजगारमा गएका महिलाः कति खुशी, कति प्रतिशत डिप्रेसनका शिकार ? 

काठमाडौं असार २२

बैदेशिक रोजगारमा गएका महिला कति खुशी होलान् ? अधिकाँशले उनीहरु मध्ये बहुसंख्यक समस्या भोगेर फर्किएको अनुमान गर्छन् । तर बैदेशिक रोजगारीबाट फर्केका महिलाहरु माझ गरिएको अनुसन्धानले यो अनुमान गलत देखाएको छ । बैदेशिक रोजगारमा गएका मध्ये ५५ प्रतिशतले आफ्नो काम सन्तोषजनक भएको बताएका छन् । 

बैदेशिक रोजगारमा जाने महिला कामदारको क्षेत्रमा काम गर्दै आएको संस्था पौरखीले गरेको अनुसन्धानमा सो तथ्य देखिएको हो । अनुसन्धानका सहभागि १ सय ५१ जना मध्ये ७६ प्रतिशतले आफू काम गर्ने ठाउँ राम्रो रहेको बताएका छन् । 

बैदेशिक रोजगारीबाट फर्केकाहरुको मानसिक स्वास्थ्यका बारेमा केन्द्रीत सो अध्ययनले मानसिक समस्यामा भनें चुनौतिपूर्ण तथ्य देखाएको छ । अध्ययन गरिएका मध्ये ३४ दशमलव ४ प्रतिशतलाई मध्य खालको डिप्रेसन देखिएको छ भनें कुल ७२ प्रतिशत डिप्रेशनको शिकार देखिएका छन् । अध्ययनको निश्कर्ष प्रस्तुत गर्दै मुख्य अनुसन्धानकर्ता डा. प्रदीपमान सिंहले ८ दशमलव ६ प्रतिशतलाई निक्कै गम्भीर प्रकृतिको डिप्रेसन देखिएको बताए । 

बैदेशिक रोजगारमा घरेलु कामदारका रुपमा गएकाहरुलाई पर्याप्त खान समेत नदिइने गुनासोका बीच अध्ययनमा संलग्नहरु मध्ये झण्डै ७९ प्रतिशतले भनें आफूहरुले राम्रोसँग खान पाएको जानकारी दिएका छन् । तर दैनिक १४ देखि १८ घण्टा कार्यसमय हुनेको संख्या ५१ प्रतिशत भन्दा बढी देखिनुले उनीहरुले पर्याप्त मात्रामा सुत्न नपाउने गरेको देखिन्छ । 

गलत व्यवहार 

बैदेशिक रोजगारमा गएर फर्केका महिला शारिरीक दुव्र्यवहारमा पर्ने गरेको समाचार बढी सार्वजनिक हुने गरेको छ । यसले बैदेशिक रोजगारमा गएर फर्किने महिलाहरुलाई हेर्ने सामाजिक दृष्टिकोण पछिल्ला केहि बर्षयता त्यति धेरै सकारात्मक छैन । 

तर अध्ययनमा समावेश गरिएका १ सय ५१ महिला मध्ये ७४ दशमलव २ प्रतिशतले आफूहरुमाथि कुनै प्रकारको पनि दुव्र्यवहार नभएको बताएका छन् । दुव्र्यवहारमा परेका २५ प्रतिशत मध्ये बहुसंख्यकले आफूमाथि कुटपीट भएको बताएका छन् । ९ जना बलात्कारमा परेर फर्किएका र २ जनाले आफू माथि यौन हिंसाको प्रयास भएको बताएका छन् । 

कमाई 

बैदेशिक रोजगारबाट फर्केर पौरखीको सुरक्षित आवास गृहमा आइपुगेका ति महिला मध्ये आधाले मासिक रुपमा २० हजार देखि ३० हजार तलव सुविधा पाउने गरेको बताए । यसैगरी १० देखि २० हजार पाउने ३७ प्रतिशत रहेका छन् । मासिक ३० हजार भन्दा बढी कमाउनेहरु झण्डै ५ प्रतिशत रहेका छन् भनें मासिक १० हजार भन्दा कम कमाउनेको संख्या ६ प्रतिशत रहेको छ । 

सामीको सहयोगमा गरिएको सो अनुसन्धानको रिपोर्ट सार्वजनिक समारोहमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले बैदेशिक रोजगारमा जानेहरुको पनि मानसिक स्वाथ्य जाँच्न आवश्यक रहेको हुँदा सरकारलाई यसमा आयोगका तर्फबाट ध्यानाकर्षण गराइएको बताए । उनले बैदेशिक रोजगारबाट फर्केर आउनेहरुको पनि स्वास्थ्य परिक्षण गर्न जरुरी रहेको तर्क गरे । उनले मान्छेले पर्याप्त मात्रामा सुत्न नपाउँदा र अधिक समय काम गर्दा पर्ने मानसिक तनावका बारेमा अझ गहन अध्ययनको खाँचो औंल्याए । 

सो अवशरमा बैदेशिक रोजगार प्रवद्र्धन बोेर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले, पौरखीकी अध्यक्ष मञ्जु गुरुङ, सामीकी कार्यक्रम अधिकृत रोनी प्रधान लगायतले धारणा राखेका थिए ।  

यो पनि पढ्नुहोस्  

‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय