![पुनः अफगानिस्तान !](https://deshparadesh.com/wp-content/uploads/2015/12/migrants.jpg)
काठमाडौं- सरकारले वैदेशिक रोजगार व्यवसायी र केही म्यानपावर कम्पनीको दबाब र प्रभावमा अफगानिस्तानबाट छुट्टीमा आएका कामदारलाई पुनः फर्कन अनुमति दिएको छ । श्रम तथा रोजगार मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गरी छुट्टीमा आएका कामदारलाई तोकिएको ढाँचामा निवेदन दिन लगाएर पुनः काममा फर्कन अनुमति दिने निर्णय गरेको हो ।
तोकिएको निवेदनको ढाँचामा कामदार आफ्नै इच्छाले गएको व्यहोरा उल्लेख छ ।
अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दूतावासमा काममा जाने क्रममा आतंककारीको विस्फोटमा परी १४ नेपालीको हत्या भए पछि मन्त्रिपरिषद्को असार ९ गतेको निर्णयले अफगानिस्तान, सिरिया, इराक र लिबियामा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्ले ती मुलुकहरूमा जान चाहने कामदारलाई श्रमस्वीकृति नदिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले प्रतिबन्ध लगाएको दुई साता नपुग्दै श्रम मन्त्रालयले केही म्यानपावर कम्पनीको दबाबमा परेर छुट्टीमा आएकाहरूलाई काममा फर्कन अनुमति दिएको हो । ‘श्रममन्त्री, वैदेशिक रोजगार विभागका केही कर्मचारी र म्यानपावर कम्पनीको मिलेमतोमा उनीहरूलाई पठाउने निर्णय भएको हो । मन्त्रालयका कतिपय अधिकारीहरू छुट्टीमा आएकालाई समेत पठाउन नहुने अडानमा छन्’, श्रम मन्त्रालयका एक सहसचिवले भने, ‘मर्न जान अनुमति दिएजस्तो निर्णय भयो । मन्त्रिपरिषद्मै गम्भीर रूपमा यसबारे छलफल हुनुपथ्र्यो, त्यो नभई हचुवाका भरमा पठाउन थालियो ।’
मन्त्रालयले असार ९ को मन्त्रिपरिषद्को निर्णयविपरीत नहुने गरी पहिले नै श्रम स्वीकृति लिइसकेर बिदामा आएका कामदारलाई फर्कन अनुमति दिएको बताएको छ । दैनिकजसो विस्फोट भइरहेका कारण अफगानिस्तान लगायतका प्रतिबन्ध लगाइएका मुलुकमा कामदार पठाउन नहुने अडान मन्त्रालयका एकथरी कर्मचारीहरूको अडान छ । मानव तस्करको दबाब र प्रभावमा परेका श्रममन्त्री दीपक बोहोराले मन्त्रालयका अन्य अधिकारीको कुरा सुन्न समेत नचाहेको स्रोतले बतायो ।
वैदेशिक रोजगारविज्ञ गणेश गुरुङले केही व्यवसायीको दबाब र प्रभावमा परेर मन्त्रालयले छुट्टीमा आएकालाई फर्कन अनुमति दिएको बताए । गुरुङका अनुसार अफगानिस्तानमा काम गरिरहेका नेपाली अझै पनि असुरक्षित छन् । ‘छुट्टीमा आएकालाई जान दिने अनुमति दिएको बहानामा दलाल र तस्करहरूले सेटिङ गरेर नयाँ कामदार पठाउने चालबाजी गरेको होु, गुरुङले भने, ‘सरकार हचुवाको भरमा निर्णय गर्दैछ । आतंककारीले नयाँ र पुरानो कामदार भनेर छुट्याएर बस्छ ?’
मन्त्रिपरिषद्ले अफगानिस्तान जान प्रतिबन्ध लगाएलगत्तै श्रममन्त्री बोहोरा र वैदेशिक रोजगार विभागका केही अधिकारीले दलालको मिलेमतोमा छुट्टीमा आएकाहरू जान पाउनुपर्ने भन्दै लबिङ गर्न थालेका थिए । मन्त्री बोहोराले सुरुमा मौखिक निर्देशनमा उनीहरूलाई पठाउनु भने पनि विमानस्थलका अधिकारीले लिखित पत्र नपाई नपठाउने अडान राखेपछि सचिवस्तरीय निर्णय गराई पत्राचार गराएका हुन ।
मन्त्रालयले अफगानिस्तानमा नयाँ श्रम स्वीकृत नदिने तर पूर्वस्वीकृत लिई गएका र हाल बिदामा नेपाल आएकाहरू पुनः जान चाहेमा निजहरूकै जिम्मेवारीमा जान दिने निर्णय गरेको हो । श्रम मन्त्रालयले अफगानिस्तान जान उडान अनुमति पाऊँ भन्ने व्यहोराको निवेदन ढाँचा तयार पारेर विमानस्थलमा पठाइसकेको छ । अफगानिस्तान फर्कन चाहने कामदारले ‘मेरो सुरक्षाका विषयमा म स्वयं चनाखो एवं जिम्मेवार रहनेछु । म आवासदेखि कार्यस्थलसम्म आउन जान बुलेटप्रुफ गाडीको व्यवस्था भएको हुँदा पूर्ण सुरक्षित रहेकाले उडान अनुमति पाउन अनुरोध गर्दछु’ भनी कबुलियत गरेपछि विमानस्थल अध्यागमनले उनीहरूलाई यात्रा अनुमति दिनेछ ।
अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले श्रम मन्त्रालयको पत्रका आधारमा पुनः काममा फर्कन चाहनेलाई अनुमति दिइएको बताए । उनले भने, ‘ श्रम मन्त्रालयको निर्णयअनुसार नै हामीले उनीहरूलाई अफगानिस्तानका लागि यात्रा अनुमति दिएका हौं ।’ विमानस्थल अध्यागमन कार्यालयका प्रमुख यज्ञराज कोइरालाले छुट्टीमा आएका कामदारहरू अफगानिस्तान फर्कन थालेको बताए ।
श्रम मन्त्रालयले अध्यागमन विभाग, विमानस्थलस्थित अध्यागमन कार्यालय, प्रहरी र सम्बन्धित एयरलाइन्स कम्पनीहरूमा पत्राचार गर्दै छुट्टीमा आएका कामदारलाई अफगानिस्तान फर्कन अनुमति दिन निर्देशन दिएको छ ।
अन्नपूर्ण पोष्टबाट