हरि कृष्ण न्यौपाने, कुवेत- बिगतका बर्षहरुको तुलनामा कुवेत तथा मध्यपुर्बका राष्ट्रहरुमा यो बर्ष अत्याधिक गर्मी बढीरहेको छ। बिशेष त ४५-५० डिग्री तापक्रम ननाघ्ने कुवेतमा यो हप्ताको तापक्रम ५८ डिग्रीसम्म पुग्यो। कुवेतमा बढीरहेको तापक्रमका कारण यहाँका बिभिन्न समाचार माध्यमहरुले उच्च तापक्रमबाट सचेत रहन र सकेसम्म दिउँसो बाहिर ननिस्कन यहाँका नागरिक तथा आप्रबासी कामदारलाई आग्रह गरेका छन।
त्यसो त कुवेत सरकारको सार्वजनिक प्राधिकरणका जनशक्ति सुरक्षाको लागि उपमहानिर्देशक अब्दुल्लाहा अलमुतवाले सधैं झै यो बर्ष पनि जुनको पहिलो हप्ताबाट अगस्टको अन्तिम हप्तासम्म बिहान ११ः०० बजेदेखि दिउँसो ४ बजेसम्म खुला क्षेत्रमा श्रमिकहरुलाई काममा नलगाउन निर्देशन जारी गरिसकेका छन् । उक्त निर्देशनमा जुन देखी अगस्ट महिनासम्म यो समयसम्म खुल्ला क्षेत्रमा काममा लगाएमा सम्बन्धित निकायको अनुगमनमा नियम उल्लङ्घन गरेको पाइए कारबाही गरिने बताइएको छ।
बिशेष गरी श्वासप्रश्वास रोग भएका ब्यक्तिहरु, ४ बर्ष भन्दा कम उमेरका बच्चाहरु, गर्भवती महिलाहरु, ६५ बर्ष काटेका ब्यक्तिहरु, बीपी(रक्त संचार) अस्थिर रहेका व्यक्तिहरु, ब्लड सुगरका औषधी सेवन गर्ने गरेका ब्यक्तिहरु, अत्याधिक मोटा ब्यक्तिहरुलाई यस्तो गर्मीका कारण प्रतयक्ष असर गर्न सक्छ।जसका कारण गर्मी स्ट्रोक र निर्जलीकरण हुदै टाउको अत्याधिक दुख्ने, अचेत हुने वा अन्धो समेत हुन सक्छन।
कुवेतमा केही हप्ता देखी अत्याधिक गर्मी र धुलोका कारण धेरै ब्यक्तीहरु मौसम परिवर्तनबाट लाग्न सक्ने समान्य रुघा, खोकी, ज्वरो तथा जिउ दुख्ने समस्याबाट प्रभाबित छन।
त्यती मात्र होइन हरेक दिन आगलागीका घटनाहरु बढी रहेका छन। गत बिहीवारमात्र कुवेतको फर्मानियामा ९ जनाको ज्यान जाने गरी आगलागी भयो भने हरेक दिन कही न कही आगलागीका घटनाहरु भइरहेका छन। त्यती मात्र होइन अत्याधिक गर्मीकै कारण सडकमा चलिरहेका सवारी साधनहरु पनि जल्ने क्रम बढीरहेको छ। त्यसैले कुवेतको गर्मीबाट बच्न आफैंले सक्दो प्रयास र सावधानी अपनाउनु जरुरी छ।
गर्मीका कारण हुन सक्ने क्षतीबाट बच्न गर्न सकिने समाधानका उपायहरुः
१. सकेसम्म दिउँसो बाहिर अनावश्यक रुपमा घुमफिर वा किनमेलको लागि ननिस्कने।
२. निस्कनै परे पनि क्याप, ह्याट, सन ग्लास र शरिरको सबै अंग छोपिने कपडा लगाउने।
३. सकेसम्म समयमै घटिमा ६ देखी ८ घण्टा सुत्ने र अनिदोमा बाहिर ननिस्कने।
४. सकेसम्म धुम्रपान, मध्यपान र लागु औषधको सेबन नगर्ने। इनर्जी ड्रिङ्गस र चिया कफी कम पिउने।
५. बाहिरबाट आउने बित्तिकै पसिना नसेलाउदै लगाएको कपडा नफेर्ने तथा बाहिरबाट आउना साथ ननुहाउने।
६. खाना खाने बित्तिकै वा नुहाउने बित्तिकै नसुत्ने।
७. कोठा तातो भयो भनेर सुत्नु अघी एसी धेरै चिसो नबनाउने, सकेसम्म एसीलाई २२ २४ डिग्रीसम्म मात्र राख्ने।
८. बिजुली सर्टसर्किटबाट बच्दै आगालागी हुन नदिनको लागि घर तथा अफिसमा काम सके पछी इलेक्ट्रोनिस्क सरसामान बन्द गर्ने । रिचार्जेबल इलेक्ट्रोनिक्स सामानहरु पनि लामो समय चार्जमा नछोड्ने।
९. पानी धेरै पिउने। सकेसम्म हरिया तरकारीहरु, फलफुल बिशेष गरी खरबुजा, तरबुजा खाने अनी जुसहरु बढी पिउने।
१०. रमादान बाहेकका समयमा बाहिर निस्कदा सधैं पानी साथमा राख्ने।
११. धेरै गर्मी भयो भनेर धेरै चिसो पेय पदार्थ नपिउने, किनकी गर्मीमा टनसिलले छिट्टै समाउन सक्छ।
१२. यदी सवारी साधन चलाऊनु हुन्छ भने सवारी साधनको सर्भिसिङ समयमै गराउनुस। इन्जिनको पानी वा वेल र फिल्टर चेक गरिरहनुस। सवारी साधनको एसी धेरै स्पिडमा नबनाउनुस, जसको कारण ओभर हिट हुने सम्भाबना हुन सक्छ।
१३. यदी तपाईंले १२ घण्टा भन्दाबढी लगातार काम गरिरहनु भएको छ भने पानीको मात्रा बढाउनुस र आफुलाई सकेसम्म कम तनावमा राख्नुस।
१४. तपाईंलाई ब्लड प्रेशर, ब्लड सुगरको समस्या छ भने र औषधी सेवन गरिरहनु भएको छ भने समय समयमा परिक्षण गरिरहनुस।
१५. सकेसम्म कम तनावमा रहनुस।
तपाईं हामी बिदेशमा रहेका र तपाईं हामी मध्ये धेरै परिवार अनी आफन्त देखी टाढा रहेका हुनाले आफ्नो सुरक्षा र समाधानका उपाय आँफैले अपनाउनु पर्छ। स्वास्थ्य नै धन हो, स्वास्थ रहनुस, खुशी रहनुस।
यो पनि पढ्नुहोस्
‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’ (भिडियो सहित)