काठमाडौं, असार १७
ओमानका लागि राजदुतमा सिफारिसमा परेकी शर्मिला पराजुलीले आफू मेनपावर व्यवसायी नभएको दावी गरिरहँदा सो व्यवसायमा उनको संलग्नता पुष्टि हुने प्रमाणहरु भेटिएका छन् । उनलाई फोरम लोकतान्त्रिकले राजदुतमा सिफारिस गरेपछि त्यसलाई मन्त्रीपरिषदले पास गरिसकेको छ । मेनपावर व्यवसायीलाई राजदुत बनाइनु हुन्न भनेर चर्को आवाज उठेपछि पराजुलीले आफू स्वयं व्यवसायी नभएको र परिवारको मात्र त्यसमा संलग्नता रहेको दावी गर्दै आएकी छिन् ।
तर पराजुलीको दावीलाई असत्य सावित गर्ने गरी उनका बारेमा विगतमा इन्टरनेटमा राखिएका सामग्री भेटिएका छन् । यी सामग्रीमा उनलाई मेनपावर व्यवसायी नै भनिएको छ र यो विवरण स्वयं उनले नै सगर्व उपलव्ध गराएको प्रष्ट हुन्छ । यो विवरणमा उनलाई सकेसम्म ठूलो क्षमता भएको व्यक्तिका रुपमा प्रस्तुत गर्न खोजिएको छ । यहाँ उनलाई विएसडी एचआर सोलुसनको निर्देशक भनिएको छ । यसैगरी रोयल डाइमण्ड रिक्रुटमेण्ट एलएलसी, फ्लोरिड एचआरको पनि निर्देशक भएको उल्लेख छ । यस विवरणमा उनलाई नेपाल, वंगलादेश, मलेसिया तथा युएईमा व्यवसाय गर्ने भनिएको छ ।
यसैगरी अर्को तस्वीरमा पनि उनका बारेमा सोही विषय झल्काउने विवरण छ ।
यसले पराजुली मेनपावर व्यवसायमा संलग्न रहेको पुष्टि हुन्छ । फोरम लोकतान्त्रिकसँग कुनै पार्टीगत सम्वन्ध विगतमा नदेखिएकी पराजुली अकस्मात राजदुत सिफारिसमा परेपछि स्वयं सो पार्टीका नेताहरु समेत चकित छन् ।
पराजुलीलाई नेपाली कामदार काम गर्ने जाने मुलुकको राजदुत सिफारिस गरिएपछि त्यसलाई रोक्न नेपालमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले अभियान नै सुरु गरेको छ । उनलाई राजदुत नबनाउन आग्रह गर्दै सञ्जालले यस अगाडी नै संसदिय सुनुवाई समिति, सभामुख लगायतलाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।
यो पनि पढ्नुहोस्
मेनपावर व्यवसायीलाई राजदुत नवनाउन माग गर्दै संसदिय समितिमा उजुरी