
काठमाडौं, असार १४
ओमानका लागि नेपाली राजदुतमा सिफारिस गरिएकी शर्मिला पराजुली मेनपावर व्यवसायी भएका कारण उनलाई राजदुतमा अनुमोदन नगर्न माग गर्दै संसदिय समितिमा उजुरी परेको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका तर्फबाट सो उजुरी दर्ता गरिएको हो । यसैगरी अन्तराष्टिय सम्वन्ध तथा श्रम समितिमा पनि ध्यानाकर्षण पत्र दर्ता गरिएको छ ।
सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले समितिसँगै सभामुख ओनसरी घर्तीलाई पनि ध्यानाकर्षण दर्ता गराएका छन् । ध्यानाकर्षण पत्रमा भनिएको छः नेपालका केहि मेनपावर व्यवसायीको गलत कृयाकलापका कारण तथा गन्तव्य मुलुकका दुतावासको सेवा प्रति टिका टिप्पणी हुने गरेका छन् । यो अवस्थामा स्वयं मेनपावर व्यवसायीलाई नै राजदुतमा सिफारिस गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।
सञ्जालले सरकारको सो सिफारिसले बैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थीत बनाउने सरकारको नीति माथि नै प्रश्न उठाएको ठहर गरेको छ । भिषा प्रमाणिकरण लगायतका विषयमा समेत सरोकार राख्ने निकाय दुतावासमा मेनपावर व्यवसायसँग जोडिएको व्यक्ति रहनु प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने भन्दै सो सिफारिसलाई अनुमोदन नगर्न ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ ।
यो पनि पढ्नुहोस्
काठमाडौं उत्रेका नेपाली भन्छन्ः ‘अव बाँचियो’