पर्वत- रोजगारी खोज्दै नेपालका कयौं युवा जीवनको ऊर्जाशील समय खेर फालिरहेका छन् । त्यसैको एउटा उदाहरण हुन् पर्वतको भुकताङ्ले–१ का भुलबहादुर पौडेल । भुलबहादुरले जीवनमा ठूलो भूल गरे, र आफ्नो ऊर्जाशील समयलाई युरोप जाने सपनासँग साट्न थाले । तर, त्यो सपना सार्थक नभएपछि अहिले आफ्नै माटोमा केही गर्ने अवसर खोजिरहेका छन् ।
आफ्नो बलबुतामा मात्र युरोप जान नसकिने देखेपछि उनले ०७० सालमा दलालको सम्पर्कमा पुगे । उनले ऋण खोजेर ८ लाख ५० हजार रुपैयाँ बुँझाए । त्यसपछि अवैधानिक तरिकाले दलालले पौडेललाई टर्की पु¥याएर छाडिदिए ।
भुलबहादुरको सपना त्यतिबेला चकनाचुर भयो, जब दलालले अलपत्र पारेर त्यहाँबाट भाग्यो । युरोप पुग्ने सपना बोकेर झन्डै १० लाख रुपैयाँ खर्च गरेका उनी अहिले पर्वत जिल्लामै नमुना बाख्रापालन व्यवसायी बनेका छन् । दुई वर्षदेखि भुकताङ्ले–३ स्थित तल्लो लप्सीबोटमा प्रगति एकीकृत बाख्रा फार्म सञ्चालनमा ल्याएका पौडेलले बाख्रापालनबाट मनग्गे आम्दानी गर्दै आएका छन् । उनले एकै महिनामा ९० हजार रुपैयाँसम्म आम्दानी गरेको अनुभव सुनाए । “अहिलेसम्म लगानी गरें, अब आम्दानी दिन थालेको छ,” कृषक पौडेलले भने, “अहिले खोरमा रहेका बोका आठ हजारदेखि १४ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको छु ।”
उनको बाख्राफार्ममा अहिले झन्डै ८० वटा बाख्रा छन् । झन्डै एक दर्जन बोका बिक्री गर्ने तयारीमा छन् । कम्तीमा एक सयवटा माउ बाख्रा बनाउने योजनामा उनी छन् । “एक वर्षभित्रै एक सयवटा माउ पाल्ने तयारीमा छु,” उनले भने । उत्पादित बोका बिक्रीका लागि कुनै समस्या नभएको उनी बताउँछन् । सदरमुकाम कुश्मा, पोखराबाट स्थानीय जातका बोकाको माग आउने गरेको उनले बताए । “स्थानीय खरिजातको बोकाको मासु कुस्मा र पोखरामा प्रतिकेजी एक हजारसम्ममा बिक्री हुने गरेको रहेछ,” उनले भने । व्यावसायिक बाख्रापालनमा पाँच लाख रुपैयाँ लगानी गरेका पौडेलले १ सय रोपनी जग्गा भाडामा लिएका छन् । “बाख्रापालनका लागि सात वर्षका लागि १ सय रोपनी जग्गा भाडामा लिएको हुँ,” उनले भने । पौडेलले वार्षिक ५० हजार रुपैयाँ जग्गाको भाडा तिर्ने गरेका छन् ।
बाख्रा फार्ममा उनको परिवारसँगै एक जनालाई रोजगारीसमेत दिएका छन् । बाख्रा फार्ममा रोजगारी पाउने मनबहादुर विकसमेत खुसी छन् । “रोजगारीका लागि विदेश जान पैसा छैन,” विकले भने, “आफ्नै गाउँमा बिना लगानी रोजगारी पाउँदा खुसी छु ।” पौडेलले विकलाई मासिक १० हजार दिने गरी रोजगारी दिएका हुन् । पौडेललाई बाख्रा फार्ममा श्रीमती र छोराछोरीले सघाउने गरेका छन् । तीन छोरी र एक छोराका बाबु भुलबहादुर यसअघि पनि वैदेशिक रोजगारीमा गएर फर्किएका हुन् । ०५७ सालमा कतार पुगेका उनी राम्रो आम्दानी नभएपछि डेढ वर्षभित्रै घर फर्केका थिए । “अब वैदेशिक रोजगारी भन्ने सुन्न पनि चाहन्न,” उनले भने, “वैदेशिक रोजगारीको नाममा मैले धेरै दुःख पाएँ ।”
मेहनत र लगानी गर्ने हो भने घरमै बसेर पनि राम्रो गर्न सकिन्छ भन्ने अहिले आएर आफूमा सोच आएको उनले बताए । जिल्लामै सबैभन्दा बढी बाख्रा पाले पनि उनले सरकारी निकायबाट भने खासै सहयोग नपाएको बताए । अहिलेसम्म जिल्ला पशुसेवा कार्यालयबाट खोर सुधारका लागि २५ हजार रुपैयाँ पाए पनि बाँकी सबै आफैंले लगानी गरेको बताए ।
यो समाचार कारोवार दैनिकमा लक्ष्मीप्रसाद सापकोटाले लेखेका हुन् ।