काठमाडौं- वैदेशिक रोजगारमा जाँदा गर्नुपर्ने बिमामा अभिकर्ताको कमिसन हटाइएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी उक्त कमिसन हटाउनले निर्देशन बिमा समितिले बिहीबार गरेको हो । यो व्यवस्था लागू भएपछि वैदेशिक रोजगारमा जानेले बिमा शुल्क (प्रिमियम) मात्र तिरे पुग्छ । हाल वैदेशिक रोजगार (म्यादी) बिमा गर्दा प्रिमियमसँगै अभिकर्ता कमिसन पनि तिर्नुपर्ने व्यवस्था छ ।
रोजगारीका लागि विदेश जाने नागरिकलाई बिमा भार कम पार्न र बचतका लागि प्रोत्साहन गर्ने उद्देश्यले कमिसन हटाइएको बिमा समितिले जनाएको छ । अभिकर्ता कमिसन हटेपछि बिमा शुल्कमा उल्लेख्य रूपमा कमी आउने छ ।
वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेखअन्तर्गत हाल बिमितले प्रिमियमको औसतमा साढे ७ प्रतिशत कमिसन तिर्दै आए पनि केही कम्पनीहरूले १० प्रतिशतभन्दा बढी असुल गर्ने गरेका छन् । नयाँ व्यवस्थाअनुसार उनीहरूले त्यो शुल्क तिर्नु पर्दैन । अभिकर्ता कमिसन हटेपछि बिमा शुल्कमा ८ सय ७० रुपैयाँ देखि ३ हजार ४ सय ४८ रुपैयाँसम्म कमी आउने छ । तर, यो व्यवस्था १८ देखि ६५ वर्ष उमेर समूहका नागरिकका लागि मात्र हो । ‘६५ वर्षभन्दा माथिका नागरिकको बिमामा कामदार र रोजगारदाता बिचको करार अवधिका आधारमा बिमा कम्पनीले प्रिमियम निर्धारण गर्ने छ,’ समितिद्वारा जारी परिपत्रमा उल्लेख छ, ‘यस्तो बिमा शुल्क बिमितले एकमुष्ठ रूपमा तिर्नुपर्छ ।’
समितिले गत वैशाखदेखि लागू हुने गरी बिमा रकम दोब्बर बनाएको थियो । उक्त व्यवस्थापछि श्रम स्वीकृति लिई विदेशमा काम गर्न जाँदा नागरिकले अनिवार्य रूपमा १० लाख रुपैयाँको बिमा गर्नुपर्छ । विदेशमा बिमितको मृत्यु भएमा उसले बिमांक बापतको १० लाख, आयमा आएको कमीका लागि २ लाख, किरिया खर्च १ लाख र लास नेपाल ल्याउन बढीमा १ लाखसम्म पाउने व्यवस्था छ । यसअघि बिमितको मृत्यु भएमा ५ लाख, आयमा आएको कमीअन्तर्गत १ लाख, किरिया खर्च ५० हजार र लास नेपाल ल्याउन बढीमा १ लाख रुपैयाँ पाउने व्यवस्था थियो ।
हाल वैदेशिक रोजगारमा जाने नागरिकले उमेर समूह र बिमा अवधिका आधारमा २ हजार ३ सय ५१ देखि १९ हजार १ सय ४० रुपैयाँ सम्मको बिमा गर्नुपर्छ । नयाँ व्यवस्थापछि प्रिमियम रकम घटेर २ हजार ६६ देखि १५ हजार ५ सय ६५ रुपैयाँसम्म आउने छ । हालसम्म वैदेशिक रोजगारीका लागि करिब ४० लाख नेपाली विदेश गएको सरकारी तथ्यांक छ । यसमा भारतमा रहेका नेपालीलाई समावेश गरिएको छैन ।
तर, पछिल्लो समयमा बाहिरिने संख्या घट्दो क्रममा छ । अघिल्लो वर्षको वैशाख सम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने संख्या २२ दशमलव २ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यो ८ दशमलव ९ प्रतिशतले बढेको थियो । चालू आर्थिक वर्षमा मात्र ३ लाख ४८ हजार ६ सय २८ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
कान्तिपुरबाट