काठमाडौं, असार ९
अफगानिस्तानमा आत्मघाती आक्रमणमा परी नेपालीले ज्यान गुमाएको घटनाको सर्वत्र निन्दा गरिएको छ । नेपालमा सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले यसको निन्दा गर्दै बैदेशिक रोजगारीमा गएका नेपालीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा कृयाशिल संस्था पौरखी नेपालले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालीका लागि स्वदेशमै रोजगारीको अवशर सिर्जना गर्न सरकारसँग माग गरेको छ । यदि बैदेशिक रोजगारीमा नेपालीका लागि सम्भावना भएका मुलुकहरुमा पठाउने भएमा पनि नेपालीको अधिकार र सुरक्षाको प्रत्याभूति हुने गरी द्धिपक्षिय श्रम सम्झौता गरेर मात्र कामदार पठाउन पौरखीले आग्रह गरेको छ ।
पौरखी, नेपालकी अध्यक्ष मञ्जु गुरुङद्धारा जारी विज्ञप्तीमा भनिएको छ “नेपाल सरकारको अनुमति लिएर वा अवैैधानिक रुपमा लाखौं नेपाली महिला कामदार संगठित क्षेत्र तथा घरेलु कामदारको रुपमा कार्यरत छन् । महिला कामदारको विषय अझ संवेदनशिल हुने भएका कारण तत्काल नीति तथा कार्ययोजनाहरु तर्जुमा गरी वर्तमान अवस्थामा आइपरेका समस्याहरु समाधान गर्न र सम्भावित समस्याको समाधानका लागि गृहकार्य गर्न आवश्यक छ ।”
विज्ञप्तीमा काबुलमा भएको अमानविय घटनालाई एउटा पाठको रुपमा लिंदै आगामी दिनमा यस्तै बज्रपात हुन नदिन तत्कालै कदम चाल्न समेत सरकारसँग माग गरिएको छ ।