साउदीको २० हजारको जागिर छोडेर फर्केर नेपालमै महिनामा एक लाख कमाउँदै

आनन्द पोखरेल, चितवन, असार ५ 

मिहिनेतपूर्वक काम गरेमा पैसा कमाउनका लागि विदेश जानैपर्दैन भन्ने उदाहरण धेरै नेपाली युवाले देखाइसकेका छन् । विदेशबाट फर्किएका युवाले स्वदेशमा नै केही गरौँ भन्ने उद्देश्यका साथ आफ्नो व्यवसायलाई अगाडि बढाउँदै आएका छन् । 

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ का ३८ वर्षीय नेत्रमणि दनाई पाँच वर्ष खाडी मुलुकमा बसेर फर्केका हुन् । उनी भन्छन्, –‘म ५७ सालतिर साउदीमा गएर लेबरको काम गर्ने गरेको थिएँ, पाँच वर्ष साउदीमा बसेपछि नेपाल फर्किएँ ।’ नेत्रमणि नेपाल फर्किए लगत्तै उनका भाइ समेत साउदी गए ।

३३ वर्षीय निलकान्त दनाई पनि पाँच वर्ष नै उहि साउदी बसेर २०६८ सालमा नेपाल फर्किए । भाइ फर्किएपछि नेत्रमणिले दाजु भाइ नेपालमा नै बसेर स्वरोजगार बन्ने योजना बनाए । ‘कति अरुको देशमा गएर श्रम र पसिना बेच्नु ?’ नेत्रमणिले भने, –‘बरु आफ्नै देशमा केही गरौँ भनेर गाई फार्म सञ्चालन गर्ने योजना बनायौँ ।’

पहिले घरखर्चको लागि दुई चारवटा गाई पाल्दै आएका दनाई परिवारले व्यावसायिक रुपमा गाई पालन गर्ने योजना सहित २०६९ सालमा गाई फार्म सुरु गरे । सुरुमा १० वटा गाईबाट व्यवसाय सञ्चालन गरेका दनाई परिवारसँग अहिले साना ठूला गरि ३८ वटा गाई छन् । राप्ती नगरपालिकाको वडा नम्बर ७ मा ‘दनाइ गाई पालन व्यावसायिक फार्म’ सञ्चालन गरेका दाजुभाइले अहिले मासिक दुई लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

अहिले दैनिक रुपमा दुई सय लिटर दूध उत्पादन गर्दै आएको नेत्रमणिको भनाइ छ । ‘दैनिक दुई सय लिटर दूध उत्पादन हुन्छ’ नेत्रमणिले भने, –‘नजिकैको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थामा लगेर बेच्ने गरेको छु ।’ व्यावसायिक गाई पालनबाट मासिक रुपमा दुई लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको नेत्रमणि बताउँछन् । 

गाई पालनबाट पूर्ण रुपमा सन्तुष्ट रहेको नेत्रमणिको भनाइ छ । ‘त्यो बेलामा खाडीमा २० हजार रुपैयाँ जति कमाई हुन्थ्यो’ नेत्रमणिले भने, –‘अहिले खर्च कटाएर महिनामा कम्तिमा पनि एक लाख रुपैयाँ बचत हुन्छ ।’ दनाई गाई पालन व्यवसायमा अहिले २२ वटा माउ गाई र १६ वटा बहर तथा बाच्छी रहेको नेत्रमणिले बताए ।

आफ्नो गाई फार्ममा बाहिरी कामदार नराखेको भएपनि आफ्नी श्रीमती र दुई वटी भाञ्जीहरुले सघाउने गरेको नेत्रमणिले बताए । ‘भाइ र म त सधैँ पालैपाले गाईको स्याहार सुसारमा नै दिन बिताउछौँ’ नेत्रमणिले भने, –‘भाञ्जीहरु कलेजबाट फर्किपछि सघाउँछन् र मेरी श्रीमतीले पनि सघाउने गरेकी छिन् । अहिले दनाई गाई फार्ममा होलिस्टेन, जर्सी र मिनि जर्सी जातका गाई छन् ।

गाई फार्म सञ्चालनका लागि अहिलेसम्म ३० लाख रुपैयाँ लगानी गरेको नेत्रमणि बताउँछन् । सुरुमा लगानी गर्ने बेलामा केही रकम कृषि विकास बैंकबाट ऋण समेत लिएर व्यवसाय सुरु गरेकोमा अहिले सबै ऋण तिरेर सकिएको नेत्रमणिको भनाइ छ ।

दनाई गाई फार्म यस वर्ष जिल्ला पशु सेवा कार्यालयबाट उत्कृष्ट गाई फार्मको सूचिमा परेको छ । चितवनको उत्कृष्ट १० वटा मझौला गाई फार्ममा पर्न सफल भएको दनाई गाई फार्मले पशु सेवा कार्यालयबाट दुई लाख रुपैयाँ अनुदान समेत पाउने भएको छ । अनुदानको रकमलाई नेत्रमणिले गोठ बिस्तार गर्दै गाई व्यवस्थापनमा खर्च गर्ने योजना बनाएका छन् । 

पछिल्लो समय युवा विदेशीने क्रम बढ्दै गएको प्रति नेत्रमणि भन्छन्,–‘लगनशील भएर यहीँ काम गर्न सकियो भने विदेश जानु पर्दैन, काम गर्नको लागि जोश र जाँगर भने आवश्यक छ ।’ 

यो पनि पढ्नुहोस् 

तीन लाख पाउन अझै कति समयसम्म विदेशमै मर्नुपर्ने हो ? (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय