‘खै धेरै कमाइको आशमा विदेश जानुभयो, अहिले जिन्दगी वर्वाद भयो’ 

ज्ञानु पंगेनी, नवलपरासी, असार १ 

सानो झुपडीमा खाटमाथी मुढो झैं लडेको डेढ वर्ष वित्यो । तर त्यहि मुढो झैं भएको शरिर तंग्रिने आश परिवारको मरेको छैन । नवलपरासीको धौवादि २ जुकेपानीका २७ वर्षे खेमवहादुर घर्ती वितेका डेढ वर्षयता विस्ताराबाट उठ्न सकेका छनैनन । हात, खुट्टा, बाँकी शरिर केहि चल्दैन । तर बोल्न भनें सक्छन् । मलेसियामा दुर्घटनामा परेका उनलाई प्यारालाईसिस भएको छ । त्यसैले जीवन कष्टकर छ उनको । 

एउटा परदेशीको सपना ठूलो हुन्न । उहि जग्गा किन्ने, घर बनाउने, छोराछोरी पढाउने र बाँकी जीवन गुजाराको कुनै बाटो बनाउने । हो, यत्ति नै थियो खेमबहादुरको सपना पनि । तर ति सपना टुटेका छन् । त्यहि सपना देख्ने मान्छे उठ्नै नसक्ने गरी विस्तारामा ढलेको छ । एक गाँस खान पनि अरुकै सहयोग चाहिन्छ उनलाई । 

घरको एक्लो छोरो । अव छोराले कमाएर पाल्ला भन्ने अवस्थामा आमाबाबु पुगेका थिए । घरमा श्रीमति र दुई सन्तान थिए । त्यहि परिवार पाल्न मलेसिया पुगेका खेमबहादुर अहिले उपचारमा सहयोग गरिदिने मनकारीको पर्खाइमा छन् । चार बर्ष अघि मलेसियामा काम गर्न गएका उनी गाडीले हानेपछि यो अवस्थामा आइपुगेका हुन् । 

उनी मलेसियाको एउटा कम्पनीमा सुरक्षागार्डको काम गर्दथे । काममा हिंडेका उनलाई बाटैमा गाडीले हिर्कायो र भाग्यो । त्यसपछिका केहि दिन उनी मलेसियाको अस्पतालमा बसे जहाँ उनको शरिरले काम गर्न छोडिसकेको थियो । कम्पनीले कुनै सहयोग गरेन । 

मलेसियामै रहेका आफन्त र नेपालबाट पठाएको रकमबाट उपचार भयो । ५ लाख खर्च भयो तर समस्या २० को १९ भएन । पैसा मात्रै खर्च भइरहने तर स्वास्थ्य अवस्था सुध्रिने नदेखेपछि उनलाई नेपाल फर्काइयो । 

नेपाल आइपुगेपछि पनि उपचारका लागि परिवारले धेरै ठाउँ पुर्यायो तर समस्या ज्यूँका त्यूँ नै रहिरह्यो । उनको उपचारका लागि एक कठ्ठा जग्गा समेत बेचे उनीहरुले । परिवार ७ लाख ऋणमा छ, त्यो कसरी तिर्ने भन्ने चिन्ता छ उनीहरुलाई । 

एकातिर समस्या छँदैछ, अर्कातिर विदेश जाँदा विमा गरेको कम्पनीले पनि पैसा दिएन । प्राईम लाईफ ईन्सुरेन्स कम्पनीबाट उनी विमा गरी मलेसिया गएका थिए । घाइते भएर फर्किंदा सुरुमा कम्पनीले क्षतिपूर्ति दिने बतायो । त्यहि आशमा उनीहरुले ऋण लिएर खेमबहादुरको उपचारमा खर्च गरे । अहिले बीमा कम्पनीले रकम दिन नमिल्ने भन्दै पन्छिएको छ । 

उनलाई वीमा रकम दिलाउन कावासोती स्थीत सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रले पनि धेरै पहल गरेको परामर्शदाता रञ्जना लम्साल बताउँछिन् । घर्ती नेपाल फर्केपछि नै प्राईम लाईफ ईन्सुरेन्सको काठमाण्डौ र  कावासोती शाखासँग पटक पटक रकम उपलब्ध गराउन आग्रह गरेको भए पनि त्यहाँबाट दुर्घटनामा परेर अङ्गभङ्ग भएमात्रै विमा रकम दिन मिल्ने तर घर्तीलाई प्यारालाईसिस भएकाले यस्तो प्रकृतिको घटनामा रकम दिन नमिल्ने बताएको लम्सालको भनाई छ । 

घर्तीका वुवाआमा श्रीमती एक छोरा र एक छोरी छन । ७ कठ्ठा जग्गा छ, त्यो पनि  आफ्नो नाममा छैन । २/३ कठ्ठामा परिवार मिलेर तरकारी खेती गरेका छन । त्यसैबाट जेनतेन घरखर्च चलिरहेको छ । ऋण तिर्न नसक्दा ब्याज बढ्दो छ । 

एकातिर श्रीमान् विस्तारामा लडेका छन्, अर्कातिर घरव्यवहारको चिन्ता । त्यसैले प्रेममाया घर्तीलाई रातदिनको पिरोलो छ । ‘नेपालमा नै बसेको भए यस्तो त हुने थिएन होला’ उनी भन्छिन् ‘खै धेरै कमाइ होला भनेर विदेश जानुभयो, अहिले जिन्दगी वर्वाद भयो ।’ वीमा कम्पनीबाट धेरै थोरै जतिभए पनि पैसा पाए केहि सहज हुने उनको भनाई छ । 

यो पनि पढ्नुहोस् 

नत्र यसरी नै रोइरहने छन् उनीहरु………..

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय