क्वालालम्पुर – मलेसियास्थीत नेपाली दुतावासमा गत बर्ष ४ सय ७१ जना नेपालीको मृत्युको रिपोर्ट पुग्यो । त्यसमध्ये ७० प्रतिशतको मृत्युको कारण सुतेको सुत्यै हुने(डरलाग्दो हृदयाघात) थियो । मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्न्यातले विशेष गरी गर्मीमा बढी समय काम गर्नुलाई मुख्य ठाने । यसैगरी बाँकी ३० प्रतिशतको मृत्युको कारण कार्यथलो सुरक्षित नहुनु र कतिपयले बढी मादक पदार्थ सेवन गरेका कारण हुने गरेको अनुमान गरे । यसैगरी केहि घटनामा भनें रकमको विषयमा हुने तनावका कारण गरिने आत्महत्या पनि रहेको राजदुत बस्न्यातको भनाई थियो ।
राजदुत बस्न्यातले कमाईको लोभमा लामो समयसम्म भारी काम नगर्न नेपाली कामदारलाई आग्रह गरेका छन् । उनले आफ्नो स्वास्थ्यको पनि उत्तिकै ख्याल गर्न आग्रह गरे । ”सायद उनीहरु यसका बारेमा सचेत छैनन” उनले भने ”गर्मीमा बाहिर लामो समय काम गरेका कारण हुने समस्याका कारण सुतेको सुत्यै हुने गरेका बारेमा उनीहरु जानकार छैनन ।”
मलेसिया स्थीत दुतावासको तथ्याँक अनुसार सन् २००५ देखि २०१५ को बीचमा २ हजार ९ सय ४५ जना नेपालीले ज्यान गुमाएको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । राजदुत बस्न्यातले नेपालीले कमाएको रकम जम्मा पारेर नेपाल पठाई ऋण तिर्न बढी समयसम्म गाह्रो काम पनि गर्ने गरेको बताएका छन् । सरकारी सञ्चार माध्यम बनर्माका अनुसार राजदुत बस्न्यातले त्यसैले बहुसंख्यक नेपालीले ८ घण्टाको साटो १२ घण्टासम्म काम गर्ने गरेको बताएका छन् ।
यसैगरी मलेसियामा नेपालीको मृत्युको अर्को महत्वपूर्ण कारण अधिक मात्रामा मादक पदार्थ सेवन रहेको देखिएको छ । यसले शरिरमा पानीको मात्रा कम हुने र मृत्यु हुने गरेको देखिएको छ । यसैगरी मानसिक तनावका कारण आत्महत्या गर्ने नेपाली कामदारको संख्या पनि ठूलै देखिएको छ । नेपालमा भने अनुसार तलव नहुँदा ऋण तिर्ने चिन्ताका कारण त्यसरी नेपालीले यहाँ(मलेसिया) आत्महत्या गर्ने दर बढी देखिएको हो राजदुत बस्न्यातले भनेका छन् ।
हाल बैदेशिक रोजगारीमा रहेका नेपाली मध्ये बहुसंख्यक मलेसियामा रहेको अनुमान छ । झण्डै ८ लाख नेपाली मलेसियामा कार्यरत रहेको अनुमान छ । यसैगरी साउदी अरव तथा कतारमा ४/४ लाख भन्दा केहि बढी, युएईमा तीन लाख, कुवेतमा एक लाख तथा ओमान तथा बहराइनमा ५०/५० हजार रहेको अनुमान गरिएको छ ।
मलेसियाको सरकारी रेडियो बनर्माबाट नेपाली दुतावासले हरेक आइतवार बेलुकी ८ देखि ९ बजेसम्म नेपाली भाषिका लागि जानकारीमुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रममा मलेसियामा बस्दा गर्नुपर्ने र गर्न नहुने कामका बारेमा जानकारी गराउने गरिएको राजदुत बस्न्यातले बताएका छन् ।
मलेसियाली मानव अधिकार आयोगको सञ्चार विभागका उपसचिव सिमोन करुणगरमले आप्रवासी कामदारहरुले सामान्यतया ८ घण्टाको साटो १२ घण्टा काम गर्ने गरेको बताए । उनले अधिक आम्दानीका लागि आप्रवासी कामदारहरुले बढीसमय काम गरेपनि सन् १९५५ को रोजगार सम्वन्धि ऐन अनुसार बढी समय काम गर्न रोजगारदाताले रोक्नुपर्ने बताए । उनले यदि रोजगारदाताले गलत व्यवहार गरेमा आफूहरुलाई उजुरी गर्न आप्रवासी कामदारलाई आग्रह गरेका छन् ।
यो पनि पढ्नुहोस् छोरीको विलापः “बुबा तपाई मलेसियाबाट नफर्किंंदा पढ्न पाइन”