धादिङ- धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले गृह मन्त्रालयको निर्देशनको अवज्ञा गर्दै शुक्रवार प्रहरी लगाएर सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा ताला लगाएका छन् । बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई आवश्यक सुचना तथा परामर्श सेवा दिनका लागि जिल्ला प्रशासन कार्यालय हाता भित्र सञ्चालन गरिएको सुचना केन्द्र प्रजिअ(सिडिओ)ले नै बन्द गराएका हुन् । उनले यसअघि सुचना केन्द्र बन्द गर्न पटक-पटक चेतावनी दिदै आएका थिए । श्रम तथा रोजगार मन्त्रालय र गृह मन्त्रालयको निर्देशनको अवज्ञा गर्दै सुवेदीले केन्द्रमा ताला लगाएका हुन ।
नेपाल सरकार र स्वीस सरकारबीचको द्धिपक्षिय सम्झौता अन्तर्गत धादिङ लगायत देशका १९ जिल्लामा सुरक्षित आप्रवासन परियोजना(सामी) सञ्चालनमा छ । परियोजना अन्र्तगत धादिङ जिल्लामा जिल्ला प्रशासन कार्यालय हातामा सूचना तथा परामर्श केन्द्र खोल्न तत्कालिन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले २०७१ कात्तिक २७ गते अनुमति दिएका थिए । जिल्ला प्रशासन कार्यालयको पत्रसंख्या ०७१/०७२ चलानी नम्बर १४६७ मा त्यो प्रष्ट छ ।
केन्द्रले जिल्ला प्रशासन कार्यालयमा राहदानी वनाउन आउनेहरुलाई सेवा दिंदै आएको छ । तर सुवेदी प्रमुख जिल्ला अधिकारी भएर आएपछि सुचना तथा परामर्श केन्द्र वन्द नगरे जे पनि गर्न सकिने भन्दै पटक पटक चेतावनी दिएका थिए । सुचना केन्द्र सिर्डस धादिङले सञ्चालन गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय भित्र बसेर वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई परामर्श दिंदा शान्ति सुरक्षामा खलल परेको भन्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले केन्द्र वन्द गर्न ठाडो आदेश दिएका हुन । केन्द्र स्थापना भएपछि धादिङ जिल्लामा ७ हजार १ सय ३६ जनाले सुचना र परामर्श लिइसकेका छन् । यसैगरी केन्द्र मार्फत २ सय ६२ वटा समस्याको पहिचान गरी दलालहरुबाट ठगिएका, श्रमशोषणमा परेका, विदेशमा अलपत्र पारिएकाहरुलाई १ करोड ७ लाख वरावरको क्षतिपुर्ति दिलाउन सफल भएको केन्द्रले जनाएको छ । विभिन्न देशमा गएर हराईरहेका ७ जनाको पहिचान गरी उनिहरुलाई घर परिवारसम्म ल्याउन पनि केन्द्रले पहल गरिरहेको छ ।
बैदेशिक रोजगारमा जानेहरु राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा आउने भएकाले कार्यक्रम सञ्चालन भएका जिल्लामा ‘सम्वन्धित जिल्ला प्रशासन र केही इलाका प्रशासन कार्यालय परिसर भित्रै केन्द्रहरु स्थापना गरी वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई परामर्श दिनु’ भन्ने व्यहोरा सहित तत्कालिन श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले २०७२ मंसीर २८ गते गृह मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । श्रम तथा रोजगार मन्त्रालयको सोही अनुरोध अनुरुपको व्यवस्था गरिदिन गृह मन्त्रालयले २०७२ पुष १४ गते सम्वन्धि जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको थियो ।
सोही आग्रह बमोजिम विभिन्न जिल्लाहरुमा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रका सुचना केन्द्रहरु जिल्ला प्रशासन कार्यालय हाताभित्रै सञ्चालनमा छन् । तर धादिंग जिल्लामा भनें सुचना केन्द्र बन्द गराएर प्रमुख जिल्ला अधिकारी सुवेदीले सवैलाई आश्चर्यचकित बनाएका छन् ।