
काठमाडौं, जेठ २४- साउदी अरेवियाबाट आप्रवासी कामदारले कमाएर स्वदेश पठाउने रकममा ६ प्रतिशत कर लगाउने प्रस्तावलाई त्यहाँको सुरा काउन्सीले सही ठहर्याएको छ । सो प्रस्ताव पारित भएमा साउदी अरवमा कार्यरत लाखौं आप्रवासी कामदार प्रभावित हुनेछन् । सुरा काउन्सील साउदी अरवमा संसद जस्तै प्रकृतिको निकाय हो ।
कर सम्वन्धि सो प्रस्ताव पत्र सुरा काउन्सीलकै पूर्व सदस्य रहेका होसाम अल अंकारीले तयार पारेका हुन् । उनी हाल जेनरल अडिटिङ व्यूरोका प्रमुख छन् । “कर सम्वन्धि यो नियमले आप्रवासी कामदारलाई या त यहिं लगानी गर्न वा खर्च गर्न बाध्य पार्ने छ” उनले भनेका छन् । यसले विदेशी कामदारले देश बाहिर पठाउने रकम कम हुने भन्दै सरकारको आम्दानी समेत बढाउने उनले तर्क गरेका छन् ।
यो नियम सवै मनी ट्रान्सफर कम्पनी, बैंक तथा वित्तिय संस्थाहरुले लागु गर्नेछन् । यसैगरी एक समयमा आप्रवासी कामदारले देश बाहिर पठाउन पाउने रकमको सीमा समेत तय गरिने समाचारमा जनाइएको छ । यसैगरी साउदी अरव छोड्ने समयमा उनीहरुले पठाउने रकमको समेत सीमा तोकिने जनाइएको छ । यस्तो सीमा कति राख्ने भन्ने सो व्यक्तिको आम्दानी हेरेर तोकिने अल अरवको अनलाइन संस्करणले उल्लेख गरेको छ ।
योसँगै करसम्वन्धि अन्य थुप्रै विषयहरु पनि प्रस्ताव गरिएको छ । जरिवानाको दर पनि उच्च बनाइएको छ । साउदी अरवमा बढ्दो आप्रवासी कामदारको संख्यासँगै त्यहाँबाट विदेशीने रकम पनि बर्षेनी बढ्दै गएको छ ।
यो पनि पढ्नुहोस्
छोरीको विलापः “बुबा तपाई मलेसियाबाट नफर्किंंदा पढ्न पाइन”