
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीले कामदारलाई विदेश पठाइदिएर कसैलाई गुन नलगाएको बताएका छन् । उनले यो व्यवसायीको व्यवसाय भएका कारण यसमा कोही भ्रममा नपर्न आग्रह गरे । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम सीधा कुरामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले फ्रिभिसा, फ्रिटिकटको व्यवस्था लागु गरेपछि त्यहि अनुसार गर्नु व्यवसायीको दायित्व भएको बताए । उनले बैदेशिक रोजगार व्यवसायीले सो अनुसार गर्दिन भन्न नमिल्ने तर्क समेत गरे ।
प्रधानमन्त्री ओलीले विदेश जाने मान्छे न्यूनतम लागतको निर्णय अनुसार मात्र जान्छु भनेर अडिन सक्ने हो भनें व्यवसायीको मात्र कुनै जोड नचल्ने दावी समेत गरे । उनले भने “मान्छे पठाइदिए वापत उनीहरुले ज्याला लिने हुन् । त्यसकारण त्यसमा(न्यूनतम लागत) अडिन सक्दा नहुने भन्ने कुरै हुन्न । तर जाने मान्छे हतारोमा हुन्छ । त्यसैले व्यवसायीले त्यस्ता मान्छेलाई लटपट्याउन सक्छन्, किनकी व्यवसायी अलिक बाठै हुन्छन् ।”
सरकारले फ्रि भिसा, फ्रि टिकटको निर्णय लागु गरिसकेपछि कसैले त्यसलाई मान्दिन भन्न नमिल्ने प्रधानमन्त्रीको भनाई थियो । उनले कतिपय अवस्थामा गन्तव्य देशका रोजगारदाता र नेपालका व्यवसायी मिलेर अन्यथा(बढी रकम लिने काम) गरिरहेको पनि टिप्पणी गरे । उनले गन्तव्य मुलुकका रोजगारदाता र त्यहाँका सरकारसँग यसअघि भएका सम्झौताहरु के छन् भनेर पनि हेर्नुपर्ने बताए । “जहाँ प्रवद्र्धक छैनन्, त्यो ठाउँमा के गर्ने भनेर बेग्लै व्यवस्था हुन सक्ने” समेत प्रधानमन्त्री ओलीले बताए । तर त्यो ‘बेग्लै व्यवस्था’ के हो उनले खुलाएनन् ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठले कतिपय व्यवसायीले फ्रिभिसा, फ्रिटिकटको माग लुकाउने गरेका कारण पनि समस्या परेको बताए । उनले फ्रिभिसा, फ्रिटिकट सम्वन्धि व्यवस्थालाई कसरी प्रभावकारी रुपमा लागु गर्न सकिन्छ भनेर मन्त्रालयले काम गरिरहेको जानकारी दिए । “एउटा कार्यदलले यसमा काम गरिरहेको छ, त्यसको प्रतिवेदन आएपछि मन्त्रालयले ठोस् कदम चाल्छ” श्रेष्ठको भनाई थियो ।
सरकारले गत २०७२ असार २१ गतेदेखि फ्रिभिसा, फ्रिटिकटको व्यवस्था लागु गरेपनि त्यो प्रभावकारी कार्यान्वयन भइरहेको छैन । सरकारले गन्तव्य मुलुकका रोजगारदाताले प्रवद्र्धन शुल्क उपलव्ध नगराएको अवस्थामा बढीमा १० हजारसम्म लिन पाउने व्यवस्था गरेपनि व्यवसायीले हाल पनि बैदेशिक रोजगारीमा जानेहरुसँग मोटो रकम असुलीरहेका छन् ।
यो पनि पढ्नुहोस्
परदेशीएको छोरो घर फर्किने आश (भिडियो सहितको सामग्री)