स्वदेशमा नै रोजगारीको अवशरका लागि तालिम 

काठमाडौं, जेठ २१ 

एकातिर स्वदेशमा रोजगारीका अवशरहरु संकुचित भएको र अर्कातिर उद्योगहरुमा दक्ष जनशक्तिको अभाव भइरहेको अवस्थमा दक्ष कामदार तयार पार्ने उद्धेश्यले आगामी आर्थिक बर्षभित्र दुईसय व्यक्तिलाई तालिम दिइने भएको छ । सोही सन्दर्भमा औद्योगिक सीप प्रशिक्षण (अप्रेण्टिशिप) सम्वन्धि कार्यशाला काठमाडौंमा आयोजना गरियो । 

अप्रेण्टिशिप तालीमका बारेमा सहभागीहरूलाई जानकारी गराउने र नेपालका लागि कस्तो प्रणाली उपयुक्त हुन्छ भनेर छलफल गर्ने उद्धेश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद(सिटीईभीटी) ले सफल अप्रेन्टिशिप तालीम पद्धतिको दिशामा नेपाल शिर्षकमा सो कार्यशाला आयोजना गरेको हो । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिटीईभीटीका सदस्य सचिव डा. रामहरि लामिछानेले कार्यशाला अप्रेन्टिशिप तालीमलाई व्यवहारमा लागू गर्न पहिलो कोशेढुंगा हुने विश्वास व्यक्त गरे । उनले सीपयुक्त जनशक्ति उत्पादनमा सरकार, उद्योग प्रतिष्ठानहरू र सीप तालीम प्रदायक संस्थाहरू बीचको सहकार्यको अपरिहार्यतामा जोड दिए । शिक्षा मन्त्रालयका सहसचिव डा. हरि प्रसाद लम्सालले नेपालमा अप्रेन्टिशिप तालिम सम्बन्धी मौजुदा कानूनी व्यवस्थाका बारेमा प्रस्तुती गरेका थिए । 

अप्रेन्टिशिप तालिमका विषयविज्ञ जोहान्न पिटर पोर्टनले कार्याशालामा सहजिकरण गरेका थिए । यसैगरी बुटवल प्राविधिक प्रतिष्ठानमा चार दशकअघि अप्रेन्टिशिप तालीम प्राप्त गरी हाल जलविद्युत सम्बन्धी प्रसिद्ध व्यवसायी लक्ष्मण देवकोटाले अप्रेन्टिशिप तालीमको अनुभवहरू प्रस्तुत गरे । 

त्यसैगरी हेल्भेटास नेपाल अन्तर्गत रोजगार कोषको सचिवालयबाट ज्योति खत्रीले उद्योगधन्दासँगको समन्वयमा सञ्चालन गरिएको छाला उत्पादन सम्बन्धी अप्रेन्टिशिप तालीमका बारेमा जानकारी दिइन् । यसैगरी होटल व्यवस्थापन सम्बन्धि विभिन्न स्वदेशी तथा विदेशी संस्थाहरूको सम्बन्धनमा सीप तालीम प्रदान गर्दै आएको गेट कलेजका संस्थापक खेम लकाईले सञ्चालित तालीम कार्यक्रमहरू र सफलताका कुरा प्रस्तुत गरे । 

कार्यशालामा नेपाल निर्माण व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ, निर्माण तथा पर्यटन क्षेत्रका उद्योग प्रतिष्ठानहरू, सीप तालीम प्रदायकहरूका प्रतिनिधिहरूका साथै सिटईिभीटीका पदाधिकारीहरू सहभागि थिए । कार्यशालामा स्वीस विकास नियोग (एसडीसी), हेल्भेटास इन्टरकोअपेरसन नेपाल, राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली (एनभीक्यूएस) परियोजना तथा ईन्स्योर परियोजनाका प्रतिनिधिहरू समेत सहभागी थिए । 

सीपयुक्त जनशक्तिको टड्कारो अभावलाई कम गर्दै स्वदेशमा नै रोजगारीको अवस्था बृद्धि गर्न रोजगारदाता, तालीम प्रदायक तथा कामको खोजीमा रहेका युवाहरूबीचको दूरी कम गर्ने तथा कार्यस्थलमै तालिम प्रदान गर्ने उद्धेश्यले नेपाल सरकार र स्विट्जरल्याण्ड सरकार बीचमा सम्झौता भई दीगो तथा सम्मानित रोजगारीका लागि सीप (ईन्स्योर) परियोजना गत जनवरी महिनादेखि सञ्चालनमा  छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा कार्यान्वयन गरिने यस परियोजनामा हेल्भेटास इन्टरकोअपरेसन नेपालद्वारा प्राविधिक सहयोग प्रदान गरिएको छ । १० बर्षे परियोजनाको पहिलो चरण अन्तर्गत सन् २०१९ सम्ममा १ हजार ५ सय व्यक्तिलाई तालिम प्रदान गर्ने लक्ष्य राखिएको छ । जस अन्तर्गत आगामी आर्थिक बर्ष भित्र २ सय व्यक्तिले तालिम पाउनेछन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय