क्वालालम्पुर- मलेसिया सरकारले गैरकानुनी रूपमा बस्दै आएका विदेशी कामदारमाथि फेरि धरपकड थालेको छ । राजधानी क्वालालम्पुरबाट मात्रै सोमबार १६ नेपाली कामदार पक्राउ गरेका छन् । क्वालालम्पुरको व्यस्त बिग मार्केटबाट १२ र मेनरा मेधा भवनबाट चार जना नेपाली पक्राउ परेका हुन् । अन्य सहरबाट पनि धमाधम नेपालीसहित अन्य मुलुकका विदेशी कामदार पक्राउ परिरहेका स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
मलेसियाको अध्यागमन कार्यालयले अवैध तरिकाले बस्दै आएका कामदार पक्रिने अभियान नै सुरु गरेको छ । पक्राउ परेका नेपालीको विषयमा विस्तृत जानकारी खुलेको छैन । नेपालीसहित भारतीय, बंगलादेशी, पाकिस्तानी, भियतनामी, इन्डोनेसियन, फिलिफिनो र म्यानमारका गैरकानुनी हैसियतमा बस्ने कामदारसमेत रहेका छन् ।
कामदार जानुअघि नेपालमा गरिएको सम्झौताअनुसार काम र तलबसुविधा नपाएपछि कामदारले पहिला आएको कम्पनी छाडेर अर्कोमा सर्ने गरेका हुन् । रोजगारदाताको अनुमतिबिना कम्पनी छाड्ने कामदार स्वतः अवैध हुन्छ । चर्को रकम तिरेर आए पनि सम्झौताअनुसार काम नपाउँदा कम्पनी छाडी लुकिछिपी काम गर्न बाध्य हुनुपरेको अवैध बस्नेहरूको भनाइ छ ।
पक्राउ परेका विदेशी कामदारलाई तीन महिनासम्म जेल र थप समय डिटेन्सन क्याम्पमा राखिने गरेको छ । मलेसियाका जेलमा रहेका नेपालीलाई मलेसियास्थित नेपाली दुतावासले विभिन्न संस्थाको सहयोगमा हवाई टिकट दिएर घर फिर्ता गर्दै आएको छ । अहिलेसम्म नेपाली दुतावासबाट हवाई टिकट पाएर पाँच सय २९ जना नेपाली स्वदेश फिर्ता भइसकेका छन् ।
यहाँ कार्यरत गैरकानुनी हैसियतका विदेशी कामदारलाई लक्षित गरी मलेसिया सरकारले वैधानिक बन्न रिहाइरिङ कार्यक्रम सञ्चालन गरिरहेकै समयमा ठूलो संख्यामा कामदार पक्राउ गरिएको हो । मलेसिया सरकारले गैरकानुनी विदेशी कामदारलाई घर फर्किने अवसर समेत दिएको छ । गैरकानुनी कामदार शून्यमा झार्ने नीति अन्तर्गत मलेसिया सरकारले धरपकड तीब्र बनाएको हो ।
अवैध विदेशी कामदार बढेपछि मलेसियाले औपचारिकरूपमा विदेशी कामदार लिनसमेत बन्द गरेको छ । केही अत्यावश्यक क्षेत्रमा बाहेक अहिले मलेसियाले विदेशी कामदार लिन रोकेको छ । तर, त्यहाँका दलालले विभिन्न बाहनामा विदेशी कामदार लिने काम भने भित्रभित्रै जारी राखेका छन् । नेपाली म्यानपावर कम्पनीले पनि मलेसियामा थोरै मात्रामा भए पनि कामदार पठाउने गरिरहेका छन् । अत्यावश्यक क्षेत्रमा काम गर्ने कागजपत्र तयार पारी कामदार लैजाने गरिएको हो । तर यो संख्या अत्यन्त न्यून छ ।
अन्नपूर्ण पोष्टबाट