
रवि रोषी, दोहा जेठ १९
घरदेश छोडेर परदेशमा पैसा कमाउन भासिएका कथाहरु लेख्दालेख्दा आजित म आज पुन १ सय ८५ जना नेपाली दाजुभाईको बिरह बेदनाको समाचार लेख्न बाध्य भएको छु । मैले यो समाचार लेख्नु उनीहरुलाई समाचारको पात्र बनाउन मात्र किमार्थ हुँदै होइन । यति बेला पौने दुई सय नेपाली दाजुभाईहरुले कतारमा हप्तौं देखि खान नपाएर बिचल्ली भएको समाचार लेख्नुको कारण भनेको सम्बन्धित निकायको यस अवस्थाप्रति गम्भीर ध्यानाकर्षण होस् र ५ लाख नेपाली दाजुभाईहरु बस्दै आएको कतारका नेपाली दाजुभाईहरुले विचल्लीमा परेका ति दाजुभाईहरुलाई न्याय नपाउन्जेल दुई छाक खाने प्रबन्ध गरिदिनुहुन्छ भन्ने आशा लिएर यसो गर्न पुगेको हुँ ।
खान नपाएर अलपत्र परेका ति नेपाली दाजुभाईको कथा समाचारमा ल्याउने क्रम र पहिलो चरणमा रातारात भोकको गर्जो टार्न अहम् भूमिका निभाउने पत्रकार एमपि पोखरेल र करिमबख्स मियाँलाई म साधुवाद दिन चाहन्छु ।
एक महिना भन्दा पहिले देखि नै आफन्त र विभिन्न श्रोतबाट नेपाल फिर्तीका लागि टिकट जोहो गरेर जान नपाएकाहरुको विरहको कथा अलगै छ । उनीहरु भन्छन्, पहिले टिकट लिएर आउनेलाई एक्जिट पेपर दिन्छौं भनेर टिकट लिएर आयौं । हामीलाई एक्जिट पेपर नदिएकै कारणले नेपाल फिर्ता हुन पाएनौं । साहुको बाउ कतार छोडेर भागीसक्यो । छोरोलाई जेल हालेको छ । न्यायको लागि धेरै पटक भौंतारियौं । कतैबाट सहयोग भएन ।
अलपत्र अवस्थामा रहेका मध्येमा सूर्य म्यानपावर काठमाडौंबाट आएका ८५ जना, एसओएस म्यानपावर, शिखर म्यानपावर, एन आर सि अर्थात नेशनल रिक्रुटमेन्ट कन्सल्टेन्सी, साईकृष्ण म्यानपावरबाट आएका २० जना, अल अरेविया म्यानपावरबाट आएका १२ जना र मिराकल इम्प्लोयमेन्ट सर्भिस प्राईभेट लिमिटेडबाट आएकाहरु गरी कुल १८५ रहेका छन् ।
बैदेशिक रोजगारको हकमा रोजगारदाता कम्पनीले कतारको कानुनतः सेवा सुविधा नदिएको अवस्थामा सम्बन्धित देशमा रहेको राजदुतावास र राजदुतावासको विशेष पहलमा श्रम अदालतमा गई न्याय दिलाउन पहल गर्नु राजदुतावासको दायित्वको कुरा आउँछ । दुतावास जानु अघि नै लेबर कोर्ट पुगेका पिडितहरु पटक पटक जाँदा पनि न्याय नपाएपछि दुतावासमा पहल गरिदिन याचना सहित गएका नेपालीहरुलाई दुतावासको नियमित संस्कार अनुरुप लेबरकोर्ट जानको लागि पत्र तयार गरेर पठाएको सोलुखुम्बुका पासाङ शेर्पाले बताए । लेबर कोर्ट गयो, किन आएको फर्केर जा भनेर पुलिसले फर्काइदिन्छ । दुतावास गए लेबरकोर्ट जाने कागज दिएर पठाउँछ । अब हामीले न्याय माग्न जाने कहाँ हो ? त्यसमध्येका अर्का नेपाली टोप बहादुर कुमालले बताए । हामीलाई खाने अन्नको दाना कम्पनीले नदिएको महिनौं भयो । ४ महिना देखि ११ महिनासम्म तलव नपाएर बस्दा न्यायको लागि कतारमा बस्दा बस्दा जोगीकै चाल भयो हजुर भनेर गुनासो सुनाउँछन् ।
म्यानपावरलाई फोन गरेर सरकारलाई भनेर हामीलाई उद्धार गरिदिनुपर्यो भन्दा हामीले पठाउने काम गर्यौं, ३ महिना पछि हाम्रो कुनै जिम्मेवारी रहँदैन भनी वेवास्ता गर्छ । हामीमा कसैले पनि मानवीय व्यवहार गर्दै गरेन । हामी १ सय ८५ जनामा आश्रित करिब १ हजार परिवारको नेपालमा बिचल्ली भईरहेको छ । त्यो पिडा हाम्रो मनमा नै गुम्स्याएर राख्न बाध्य भएका छौं उनीहरुको साझा गुनासो छ ।
पत्रकार एमपि पोखरेलले बिचल्लीमा परेका नेपालीको बारेमा जानकारी पाएपछि पिडितलाई भेटी समाचार तयार गरेर प्रकाशन गरेपछि पहिलोपटक गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितीका सदस्य आर के शर्माले १५ बोरा चामल लगायत अन्य सामग्री दिएका थिए । १५ बोरा चामल आएपछि धेरै दिन देखि पेटभरि खान नपाएका हामीले पातलो दालको सहयोगमा केहि छाक खायौं पिडित मध्येका एकले बताए । त्यसपछि कतारका नेपाली व्यवसायी तथा एनआरएनए, आइसीसी कतारका सामाजिक उद्यम विकास उपसमिति सदस्य अव्दुल वसिद र एनआरएनए गल्फ उपसंयोजक उमेश अधिकारीले १२ बोरा चामल, २३ किलो दाल ११ लिटर तेल र १० पोका नुन दिएका छन् । यसले अलपत्र परेका १ सय ८५ नेपालीसागै श्रीलंकन र अन्य केहि मुलका गरी २ सय १५ जनाको छाक टरिरहेको छ । हामी जस्तै भोको पेटका उनीहरुलाई देखाई देखाई खान मानवताले दिँदै दिएन । त्यहि भएर सवैले बाँडीचुँडी खाने गरेको उनीहरुको भनाई छ ।