
काठमाडौं, जेठ १६
योग्यता फ्रेमवर्कको कार्यान्वयन तथा विकासको क्रममा हासिल गरेका सफलता तथा नेपालले अन्तरराष्ट्रिय अनुभवहरुवाट सिक्नु पर्ने विषयवस्तुहरु विषयक राष्ट्रियस्तरको अन्तरक्रिया सम्पन्न भएको छ । सो अन्तरक्रिया शिक्षा मन्त्रालय, सिटीईभीटी, राष्ट्रिय सीप परीक्षण बोर्ड तथा स्वीस कन्ट्याक्टले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. गीता भक्त जोशीले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली(एनभीक्यूएफ) परियोजनाको लक्ष्य हासिल गर्ने कार्यमा आफ्नो भरपुर सहयोग रहने प्रतिवद्धता जनाए । उनले सो परियोजनाको सफलताको कामना पनि गरे ।
अन्तरक्रियामा शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले एनभीक्यूएफको सफल कार्यान्वयनको लागि नेपाल सरकारको तर्फबाट आवश्यक सम्पूर्ण काम गरिने भन्दै आश्वस्त पारे । सीटीईभीटीका उपाध्यक्ष डा. कुलबहादुर वस्नेतले एनभीक्यूएफको सफलताका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । यसैगरी सीटीईभीटीका सदस्य सचिव डा. रामहरि लामिछानेले अन्तरक्रिया आयोजनाको उद्धेश्यका बारेमा प्रष्ट पारेका थिए ।
सो अवशरमा राष्ट्रिय सीप परिक्षण बोर्डका निर्देशक याम भण्डारीले संस्थाको वर्तमान स्थितिका बारेमा प्रकाश पार्दे आगामी दिनहरुमा नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाले ध्यान पुर्याउनु पर्ने विषय वस्तुहरुको बारेमा उल्लेख गरे ।
अन्तरक्रियामा नेपाल व्यावसायिक योग्यता प्रणालीका टीम लिडर देवीप्रसाद दाहालले प्रणालीको प्रगति विवरण प्रस्तुत गरे । कार्यक्रममा प्रा. डा. मन प्रसाद वाग्लेले शिक्षा मन्त्रालयको अनुरोधमा शिक्षाविद्हरुले तयार पारेको नेपालको राष्ट्रिय योग्यता फ्रेमवर्कको प्रस्तावित मस्यौदा प्रस्तुत गरे ।
अन्तरक्रियामा ज्युरिक विश्व विद्यालयका व्यावसाियक शिक्षा विभागका प्रा. डा. मार्कस माउरेरले राष्ट्रिय व्यावसायिक योग्यता निर्धारण प्राधिकरणको कार्य, यसका विभिन्न प्रकार, क्षेत्र तथा यसका वहुआयामिक फाइदाहरुको बारेमा विस्तृतमा व्याख्या गरे । उनले राष्ट्रिय व्यावसायिक योग्यता निर्धारण प्राधिकरण सम्वन्धि अन्तर्राष्ट्रिय अनुभवहरु समेट्दै नेपालको परिवेशमा यसको व्यावहारिक प्रयोजनको बारेमा सुझावहरु दिए । उनले यसको प्रशासनिक व्यवस्थापन तथा गुणस्तर कायम राख्ने विषयमा समेत चर्चा गरे ।
एसडीसीका तर्फबाट सम्वोधन गर्दै डा. उषा भण्डारी तथा प्राध्यापक डा. सुरेशराज शर्माले नेपालमा राष्ट्रिय व्यावसायिक योग्यता प्रारुपको शुरुवात भएकोमा खुशी व्यक्त गर्दै यसको महत्व माथि प्रकाश पारे । नेपालमा आगामी १० वर्ष भित्र राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली स्थापना गर्ने लक्ष्यलाई साकार पार्न नेपाल सरकार र स्वीस सरकार बीच गत २२ जुलाई, २०१५ मा दुई पक्षीय सम्झौता भएको छ ।
नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय सीप परीक्षण बोर्डले शिक्षा मन्त्रालयको निर्देशन तथा सुपरीवेक्षणमा कार्यान्वयन गर्दै आएको छ । परियोजनाका लागि आवश्यक प्राविधिक सहयोग स्वीस फाउन्डेशनको प्राविधिक सहयोग (स्वीस कन्ट्याक्ट) ले गरिरहेको छ ।