
काठमाडौं, जेठ १५- सरकारले आर्थिक बर्ष २०७३/७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाखको बजेट प्रस्तुत गरेको छ । ठूलो आकारको बजेटले केहि क्षेत्रमा विनियोजन गर्दै आएको बजेटलाई दोव्वर बनाएको छ ।अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटले बैदेशिक रोजगारका महत्वपूर्ण केहि विषयलाई समेटेको छ । सरकारले आगामी आर्थिक बर्षभित्र ओमान, लेवनन्, जोर्डन, मलेसिया लगायतका देशहरुसँग श्रम सम्झौता गर्ने भएको छ । बजेटमा आप्रवासी कामदारको हकहितका लागि ति मुलुकहरुसँग श्रम सम्झौता गरिने जनाइएको छ ।
यसैगरी विदेशमा अलपत्र परेका र असक्त भएका नेपालीको उद्धारका लागि दु्रत उद्धार टोली परिचालन गर्ने पनि बजेटमा समेटिएको छ । बैदेशिक रोजगारबाट नेपालीले कमाएर पठाउने रकम औपचारिक माध्यमबाट पठाएमा जग्गा रजिष्ट्रेशन पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने सरकारले घोषणा गरेको छ । यसैगरी उनीहरुलाई मुख्य योजनाहरुमा लगानीको अवशर पनि दिइने अर्थमन्त्री पौडेलले जानकारी गराए ।
वैदेशिक रोजगारीबाट फर्किएको सीप र कार्यदक्षता परीक्षण गरि प्रमाणपत्र प्रदान गर्ने व्यवस्था मिलाइने पनि बजेट मार्फत घोषणा गरिएको छ । आन्तरिक तथा वैदेशिक रोजगारी प्रवद्र्धन गर्न सीपमूलक तालिम प्रदान गरिने घोषणा गरिएको छ ।
प्रवासमा रहेका नेपालीले मताधिकार पाउने भएका छन् । सरकारले बजेट मार्फत सो घोषणा गरेको हो । अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको बजेटमा प्रवासमा रहेकाहरुले संघ र प्रदेशको चुनावमा मतदान गर्न पाउने व्यवस्था मिलाइने उल्लेख छ । यसैगरी सरकारले ई पासपोर्ट वितरणको काम थाल्ने पनि बजेट मार्फत घोषणा गरेको छ ।